सुनसरी : सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको बुधबार बिहान हत्या गरिएको विरोधमा विभिन्न ठाउँमा प्रर्दशन भएको छ ।मृतकका आफन्त र स्थानीयबासीले प्रधानमन्त्री समक्ष पेश गरेको ५ बुँदे माग पुरा गर्न दबाब दिदै बुधबारदेखि नै प्रर्दशन गरिरहेका छन् । अहिले पनि मृतकको शव कोशी राजमार्गको बीच सडकमा राखेर स्थानीयहरु आन्दोलनमा नै छन् भने बजार, यातायात ठप्प पारेका छन् । गोली चलेको दुहबी मात्र होइन, जिल्ला सदरमुकाम इनरुवा, भोक्राहालगायत स्थाननमा बिहानदेखि नै प्रर्दशनकारीहरुले अवरोध गरेका थिए । दुहबीबाहेक अन्य स्थानहरुमा अवस्था सामान्य हुदै गएको छ र सडकको अवरोध पनि हटेको स्थानीयले बताएका छन् ।

उनीहरुले राजमार्गमा टायर बालेर अवरोध गरेपछि पुर्वपश्चिम राजमार्गमा लामो दुरीको गाडी चल्न सकेका थिएनन् । कतिपय गाडीहरु वैकल्पिक मार्ग धरान चतरा हुदै गुडेको थियो । कोशी राजमार्गअन्तर्गत विराटनगर र धरान सडक खण्ड भने प्रर्दशनले ठप्पै छ । स्थानीयहरुले पठाएको ५ बुँदे माग गृहमन्त्रालयले क्याबिनेटमा प्रस्ताव गरिसकेको सुनसरीका प्रजिअ प्रेमप्रकाश उप्रेतीले जानकारी दिएका छन् । क्याबिनेटले निर्णय गरेपछि माग सम्बोधन हुने उनले बताए ।बुधबार स्थानीयले २४ घण्टाभित्र अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने, मृतक फिदालाई शहीद घोषणा गर्नुपर्ने, राज्यबाट उपलब्ध हुने क्षतिपूर्ति तत्काल दिइनुपर्ने, विद्युत प्राधिकरणको जागिर मृतकको छोरालाई दिइनुपर्ने र गृहमन्त्रीले राजिनामा दिनुपर्ने माग पत्र बुझाएका थिए ।