धरान: महिला सञ्जाल धरानले लैगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई धरानमा पनि भव्य एवं प्रभावकारीरुपमा समुदायस्तरमा विविध कार्यक्रम गरी मनाउने भएको छ ।

महिला सञ्जाल धरानले शुक्रबार पत्रकार सम्मेलन गर्दै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विविध कार्यक्रम गरी १६ दिने अभियान मनाउने जानकारी दिएकोे हो । सञ्जाल र सञ्जाल आवद्ध संघसंस्थाहरुले बर्षभरि नै महिला हिंसाविरुद्ध अभियान, कार्यक्रम, पैरवीहरु गरिरहेको भएपनि १६ दिने अभियान विश्वव्यापीरुपमा नै लैगिक हिंसाविरुद्ध मनाइने भएकोले आफुहरुले पनि बिशेष महत्वका साथ मनाउने तयारी गरिएको सञ्जालकी अध्यक्ष सविता राईले जानकारी दिइन् । अभियानमा स्कुलका विद्यार्थीहरुलाई लागुऔषध तथा यौन दुव्र्यवहारविरुद्ध प्रतिकार अनुशिक्षणसहितका विविध कार्यक्रमहरु रहेको उनले बताइन् ।

‘हामीले सधै नै महिला हिंसाविरुद्ध र महिलालाई न्याय दिलाउन आवाज उठाइ नै रहेका छौं, यो १६ दिने अभियान विश्वव्यापीरुपमा लैगिक हिंसाविरुद्धको अभियान भएकोले हामीले पनि बिशेषरुपमा मनाउदैछौं,’उनले भनिन्,‘यस्तै अभियान, सक्रियताकै कारण विगतमा लुकाइने गरिएको हिंसाका घटनाहरु धेरै प्रहरीसम्म, जनप्रतिनिधिसम्म पुग्ने गरेको छ, सार्वजनिक हुन थालेको छ र पीडितले न्याय पनि पाइरहेको छ ।’ महिला सञ्जाल धरानमा क्रियासिल ३ दर्जन बढी महिलाहरु मात्र रहेको सामाजिक संघसंस्थाहरुको सञ्जाल हो ।


१६ दिने अभियानमा सञ्जाल र यसमा आवद्ध संस्थाहरु मात्र होइन, नेपाल प्रहरी, उपमहानगरपालिका, टोलविकास संस्थाहरु र जनप्रतिनिधिहरु पनि सँगसँगै कार्यक्रम गरिने सञ्जालले जनाएको छ । विगतमा यो अभियानलाई महिला हिंसाविरुद्ध मात्र भनिने गरेपनि अचेल लैगिक हिंसाविरुद्धको अभियान भनिन्छ । सञ्जालकी सदस्य सुनिता केसी राईकय अनुसार मंसिर ९ गते अभियानको उद्घाटन हुने अभियानले १० गतेदेखि २३ गतेसम्म २० वटा वडा समिति, १५२ वटा टोल विकास समितिहरुमा महिला हिंसा न्युनिकरणको लागि गरिएका प्रयास बिषयक अन्र्तक्रिया आयोजना हुनेछ । धरानको निकेतन, पब्लिक, सदन, ज्ञानोदय उच्च मावि, सियोन र विष्णु मेमोरियल उच्चमाविमा पनि इलाका प्रहरी कार्यालयसँग मिलेर लागुऔषध तथा यौन दुव्र्यवहार अनुशिक्षण हुनेछ ।

यस्तै, मंसिर १५ गते समपर्ण अभियानका युवाहरुले भानुचोकमा चिया बिक्री गरेर सहयोग रकम जुटाउने र ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम पनि रहेको सञ्जालकी सचिव कोपिला भटराईले जानकारी दिइन् । यसैगरि, महिला हिंसाविरुद्ध मिडियासँग अन्तरसंवाद कार्यक्रम पनि आयोजना गरिने र मंसिर २४ गते महिला हिंसाविरुद्ध मेरो ऐक्यवद्धताको प्रतिवद्धतासहित अभियानको समापन हुने आयोजकले जनाएको छ । लैगिक हिंसा मुक्त धरानको लागि आचारसंहिता तयार भइसकेको र चाडै कार्यपालिका बैठकबाट पनि पारित हुने उपमहानगरपालिकाकी महिला डेस्क प्रमुख हेमा थलङले जानकारी दिइन् । उनका अनुसार अभियानको समापनमा सबैलाई प्रतिवद्धता हस्ताक्षर गराइनेछ । अभियानकै बीचमा मंसिर १५ गते विश्व एड्स दिवस, १७ गते अन्र्तराष्ट्रिय अपांग दिवस र २४ गते अन्र्तराष्ट्रिय मानवअधिकार दिवस पनि रहेको उनले जानकारी दिइन् ।