धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डमा लगिएकी धरान ११ की ४८ बर्षीय गर्भवती मञ्जु राईको चार दिनअघि सुत्केरी गराउने क्रममा लेवर रुममा पेटभित्रै बच्चाको मृत्यु भयो ।

व्यथाले च्यापेकी मञ्जुको पाठेघर अचानक फुटेर अत्यधिक रक्तस्राव भएको थियो । उनको तत्काल अप्रेशन गरेर ज्यान जोगिएपनि अवस्था गम्भीर बनेको थियो । परिवारजनले उपचारमा लापरवाही हुदा बच्चाको ज्यान गएको र मञ्जुको अवस्था पनि गम्भीर बनेको आरोप लगाएका थिए । मञ्जुकय श्रीमान् बिक्रम राईले उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आइतबार अस्पताल प्रशासनमा निवेदन दर्ता गराएका छन् ।

उनले निवेदनमा समय अवधि पुगी समयमै हस्पिटल ल्याउदा पनि गाइनो वार्डमा लापरवाहीले छोराको अकालमै मृत्यु भएको दाबी गर्दै निवेदनमा सम्बन्धित डाक्टर, नर्सलाई कारबाही गर्न र क्षतिपूर्ति दिन माग गरेका छन । उनले उक्त निवेदन आइतबार अस्पताल प्रशासनमा दर्ता गराएका हुन् । करिब १७ बर्षको अन्तरालमा दोस्रो पटक मञ्जु गर्भवती बनेकी थिइन् । तर, मंसिर ५ गते बुधबार लेवर रुममा अचानक रक्तस्राव भएको थियो । उनको पेटभित्रै बच्चाको मृत्यु भएको थियो । यसअघि आइतबार धनकुटाको साँगुरीगढी गाउँपालिका २ की २८ बर्षीय मनिषा लिम्बूको पेटभित्रै बच्चासहित ज्यान गएको थियो । अस्पताल प्रशासनले भने उपचारमा लापरवाही नभएको दाबी गर्दै कतिपय केसमा अचानक जटिलता आउने र सक्दो प्रयास गर्दा पनि ज्यान जोगाउन नसकिने प्रष्टीकरण दिदै आएको छ ।

46820772_2252152951495717_2319740320792707072_n copy