झापा: झापाको शिव सताक्षीधाम नगरपालिका ७ मा आइतबार राती आगलागी भएर घरसहित परिवारका चारै जनाको जलेर मृत्यु भएको घटनाको वास्तविकता खोतल्न प्रहरीलाई हम्मे परेको छ । यद्यपी, विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

आइतबार राती करिब साढे १० बजेतिर लक्ष्मण खनाल, राधिका खनाल, ४ बर्षिय सुप्रिया र ३ महिने बालक टिकारामको आगोले जलेर ज्यान गएको थियो । प्रहरीले उनीहरुको शव निकाल्दा डढेर पहिचान गर्नै सकिने अवस्थामा थिएन । गाउँ शोकमा छ भने आगो लागेर घर पुरै जल्दा पनि ज्यान बचाउन किन सकेनन् भन्ने जस्ता प्रश्नहरु पनि जन्मिएको छ । कसैले हत्या गरेर पो आगो लगाइदिएका हुन् कि भन्ने आशंका पनि छ ।

प्रहरीले भने घटनाबारे सबै कोणबाट सुक्ष्मढंगले अनुसन्धान भइरहेको बताएको छ । मृतकहरुको शव सनाखत गरी मेची अञ्चल अस्पतालमा पोष्टमार्टम गरेर आफन्तको जिम्मा दिइसकेको झिलझिले प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक कैलाश राईले जानकारी दिए । 'अहिले त आफन्तहरुले दाहसँस्कार पनि गरिसके होलान्,' उनले भने । उनका अनुसार ४ जनाको शव घर जलिसकेको हुनाले भुईमा नजिक नजिकै भेटिएको थियो । शरीर सबै डढेको कारण गोप्यअंगको कारणले मात्र महिला, पुरुष भनेर चिनिन सकिएको उनले बताए । 

घरमा ४० लिटर डिजल स्टक थियो

ago 1

प्रहरी निरीक्षक राईका अनुसार प्रारम्भिक अनुसन्धान हुदा विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने देखिएको छ भने छरछिमेकीहरुसँग सोधपुछ गर्दा नयाँ तथ्य फेला परेको छ ।
मृतकको घर टाढे(२ तला)को काठको थियो । परिवार माथिल्लो तलामा बस्ने, सुत्ने गर्थे भने भुईतलामा सय मन जति धान राखिएको थियो । यस्तै, घरमुनि ट्याक्टर र थ्रेसर मिशिन पनि थियो । त्यसको लागि आवश्यक पर्ने ४० लिटर डिजेल आइतबार मात्र ल्याएर घरमा राखिएको थियो भने मोटरसाइकलमा पनि १० लिटर(फुल ट्यांक) पेट्रोल हालिएको थियो । घरमा जलेको अवस्थामा मोटरसाइकल पनि भेटिएको प्रहरीले जनाएको छ ।

यी सबै परिस्थिति मुल्यांकन गर्दा विद्युत सर्ट भएर आगो लाग्न थालेको र स्टक डिजेल भेटेपछि आगोले भयंकर रुपम लिएको हुनसक्ने प्रहरी निरीक्षक राईको अनुमान छ । 'त्यसै पनि काठको घरमा आगो छिटो सल्कन्छ, झन् डिजेल भेटेपछि के भयो होला ? कोही पनि बच्न नसक्नुको कारण यही पनि हुनसक्छ,' प्रहरी निरीक्षक राईले भने,'मानिसहरुले शंका गरेजस्तो कतै अप्रिय घटना पनि भएको हो कि भनेर पनि अनुसन्धानलाई फराकिलो बनाएका छौं ।'

ago 2