झापा:आगलागीमा परेर झापाको एकै परिवारका ४ जनाको ज्यान गएको घटनालाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नियोजित भएको बताएका छन् ।

आइतबार राती भएको आगगालीमा परेर झापाको शिवसताक्षी नगरपालिकामा लालझोडामा ३४ वर्षीय लक्ष्मण खनाल, २८ वर्षीया उनकी श्रीमति राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा खनाल र पाँच महिनाका छोरा टिकाराम खनालको मृत्यु भएको थियो । रहस्यमय तरिकाले भएको घटनामा चारै जनाको शव जलेर चिनिन नसकिने अवस्थामा फेला परेको थियो । प्रहरीले विद्युत सर्ट भई आगलागी भएको आशंका गरिरहे पनि कांग्रेस प्रवक्ता शर्माले भने नियोजितरुपमा घटना गराइएको हुनसक्ने बताएका छन् ।

बंसविनास हुनेगरी भएको घटना नियोजित भएको शर्माको भनाई छ । मृतकका आफन्तहरुसँगको भेटमा प्रवक्ता शर्माले भने ‘घटना कुनै हालतमा भवितव्यमा हुनै सक्दैन, नियोजित हो । घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न म नेपाल सरकारसँग माग गर्दछु ।’ नियोजित ढंगले घरमा आगो लगाएर २ जना अवोध बालबालिकासहित खनाल परिवारको हत्या गरिएको जस्तो घटनाको प्रकृति हेर्दा देखिने उनले दावी गरे । पीडितका परिवार र गाउँलेहरुले पनि घटना शंकास्पद भएको बताइरहेका छन् ।

प्रवक्ता शर्माले मुलुकमा सरकार र प्रशासन भएको अनुभव जनतालाई गराउने हो भने खनालको परिवारको हत्यारा पत्ता लगाएर मृतकका बुवाआमा र आफन्तलाई न्यायको अनुभूति दिलाउन सरकारसँग माग गरे । आगलागी भएको घर नजिकैको बाँस झ्याङ्गमा आगोको लप्का नपुग्नु, नजिकैको छिमेकीको घरमा धुवाँको टाटा नहुनु, आगलागी हुँदा छिमेकमा बिजुली आपूर्ति ठप्प नहुनु, घरमा एकै पटक चारैतिरबाट आगो लाग्नु जस्ता बिषयले घटना नियोजित भएको आशंका जन्मिने उनको भनाई छ ।

मृतक लक्ष्मणका बुबा रामकृष्ण खनालले आफ्नो एउटा वंश नै सखाप बनाएको भन्दै हत्या नै भएको दाबी गरे । उनका अनुसार एक साताअघि लालझोडाकै डम्बर निरौलाको बारीका सयौँ विरूवा काटिएको थियो भने घरमा पार्किङ गरिएको अटो खोलामा ल्याएर फालिएको थियो । ‘आज मेरो एउटा वंशनै विनास हुने गरि घरमा आगो लगाइयो, मेरो छोरा बुहारी, नाति नातिनाको हत्या गरियो । यो विद्युत सर्ट भएर हुनै सक्दैन,’उनले भने ।