सुनसरी: इटहरीस्थित एसओएस हर्मन माइनर विद्यालयका विद्यार्थीहरुले समुदायमा स्वास्थ्य सचेतना कार्यक्रमअन्र्तगत बज्राहा ७ मा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुले सचेतना कार्यक्रम आयोजना गरेका हुन् । स्थानीय ४० भन्दा बढी सहभागी भएको उक्त कार्यक्रममा स्थानीयको ४ वटा समुह बनाएर विभिन्न बिषयमा गाउँलेहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी एवं प्रशिक्षण दिएका थिए । विद्यालयका अनुसार समुह एकले सरसफाई र यसको महत्वबारेमा गाउँलेहरुलाई जानकारी दिएका थिए । विद्यार्थीहरूले सरसफाईको महत्व, यसले परिवार र समाजमापार्न सक्ने असर, सरसफाई राख्न र रहन के के गर्नुपर्छ भन्ने विषयमा छलफल गरेको एसओएसले जनाएको छ ।

यस्तै, दोस्रो समुहले हातधुने तरिकाबारे गाउँलेहरुलाई जानकारी दिएका थिए । विद्यार्थीहरूले हातधुनुको महत्व र हातधुने तरिका प्रयोगात्मक तथा व्यवहारिक ढङ्गले प्रस्तुत गरेका थिए । तेस्रो समुहले सन्तुलित खाना र यसको महत्वबारे चित्रसहित प्रस्तुत गरेका थिए भने चौथो समुहले धुम्रपान र यसको असर तथा यसको कुलतबाट कसरी बच्ने भनेर जानकारी दिएका थिए । विद्यार्थीहरुबाट स्वास्थ्य र सरसफाईबारे ज्ञान सिक्न पाउदा ज्यादै खुशी लागेको स्थानीय सहभागीहरुले प्रतिक्रिया दिए ।

47206829_2274075689537157_1387842390198321152_n copy

विद्यार्थीले आफूले कक्षामा सिकेका कुराहरू समुदायमा लैजादा विषय वस्तुको गहिरो अध्ययन गर्ने र त्यस बारेमा अतिरिक्त अनुसन्धान गरी खोज तलास गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका वरिष्ठ शिक्षक दामोदर बरालले जानकारी दिए । ‘विद्यार्थीहरुको सानो प्रयासबाट समाजमा केही न केही परिवर्तन ल्याउन सकिन्छ भन्ने उद्देश्य हो,’उनले भने,‘किताबी ज्ञानबाहेक पनि विद्यार्थीहरुले समाजमा कसरी आफ्ना कुराहरु राख्ने र प्रस्तुत गर्ने भन्ने ज्ञान हासिल गर्छन् ।’ कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई लुगाधुने र नुहाउने साबुन पनि निःशुल्क वितरण गरिएको थियो ।