धरान: जनप्रतिनिधिसँग चर्को मतभेद भएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे गत कार्तिक दोस्रो साता धरानबाट सरुवा मिलाएर मन्त्रालय फर्किए ।

उनी सरुवा भएर गएपछि धरानको विकास निर्माण, भुक्तानीको कामहरु मात्र होइन, उनले हस्ताक्षर नगरी गएको २ वटा कार्यपालिका निर्णय पनि अलपत्र छन् । नेपाल सरकारका सहसचिव घिमिरे धरानमा ५ महिना मात्र बसे । प्रमुख प्रशासकीय अधिकृत नभएपछि धरानमा महत्वपुर्ण कामहरु अघि बढ्न सकेको छैन । धरान एक हिसाबले ठप्प जस्तै छ । दैनिक प्रशासनिक कामहरु मात्र चलेको छ ।

उपमहानगरपालिकामा निजामति सेवाका सहसचिव प्रमुख प्रशासकीय अधिकृतकोरुपमा पठाउने नेपाल सरकारको नीतिगत निर्णय हो । त्यसैले अब धरानमा प्रमुख प्रशासकीय अधिकृत आउनुपर्ने सहसचिवस्तरको नै हो । तर, स्थानीय तहमा आउने सहसचिव कोही भेटिएन । धरानमा प्रमुख प्रशासकीय अधिकृत बनेर आउने सहसचिव कोही नभेटेपछि मन्त्रालयले उपसचिवलाई नै प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउदैछन् । हुन त धरानमा शिक्षाका उपसचिव पिताम्बर गौतम छदैछन् । तर, मन्त्रालयले सिनियर उपसचिव विनोद पोख्रेललाई धरानमा पठाएका छन् ।

कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीका अनुसार पोख्रेल सोमबार कार्यालयमा आउनेछन् । मन्त्रालयले पठाएपनि पोख्रेल निमित्त प्रमुख प्रशासकीय अधिकृत मात्र हुनेछन् । ‘सहसचिव हुनुपर्ने ठाउँमा सिनियर उपसचिव आउदै हुनुहुन्छ, त्यसैले उहाँलाई निमित्तको अधिकार हुन्छ,’भण्डारीले भनिन्,‘निमित्त भएपनि अहिलेजस्तो काम, कार्वाही ठप्पै नै हुदैन, रोकिदैन ।’ अहिले प्रमुख प्रशासकीय अधिकृत नहुदा ठुला योजनाहरु सञ्चालन भएको छैन । काम भइसकेको योजना र कार्यक्रमको भुक्तानीहरु सबै रोकिएको छ ।