धरान: शिकार खेल्न धरान १७ स्थि उदय सामुदायिक वनमा जादा आफ्नै साथीको गोली हानी हत्या गरेको पाइएको छ ।

धरान १७, उदय टोलस्थित नमस्ते चोकका २१ बर्षीय आशिष ठटालको हत्या गरेको आरोपमा ६ जना उनकै साथीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरु आशिषसँगै शिकार खेल्न गएका थिए । पक्राउ परेकाहरुले नै हत्या गरेर शव गाडेको अवस्थामा आज सोमबार आशिषको शव फेला परेको छ । पक्राउ परेकाहरुले शव गाडेको ठाउँ देखाइदिएपछि प्रहरी र फरेन्सिक विज्ञसहितको टोलीले उदय वनमा गएर शव उत्खनन गरेका थिए । शवलाई एउटा बोरामा पोका पारेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो ।

करिब १० दिनअघिदेखि आशिष घर फर्किएका थिएनन् । परिवारजनले सबैतिर सोधीखोजी गरेपनि फेला नपरेपछि उनका दाजु आमोश ठटालले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले शंका लागेर शुरुमा आशिषका साथी कमल गुरुङ र मदन वराइलीलाई पक्राउ गरेको थियो । वयानको क्रममा उनीहरुले धेरै समय आफ्नो कतुर्त लुकाउन सकेनन् । आफुहरु शिकार खेल्न जादा हत्या गरेर शव गाडेको वयान दिए । त्यसपछि, घटनामा संलग्न अन्य ४ जना पनि समातिएका छन् । ‘जम्मा ७ जना शिकार खेल्न आएको रहेछ, त्यसैक्रममा आशिषको हत्या गरेर शव गाडेको हो । हत्या कसरी भयो भन्ने चै खुल्न बाँकी नै छ,’डिएसपी सुमन तिम्सिनाले भने ।

स्थानीय युवाहरुका अनुसार मृतक आशिष ग्रीलमा पनि काम गर्थे भने बेला बेला साथीहरुसँग शिकार खेल्न पनि जान्थे । यसपटक मंसिर ८ गते पनि साथीहरुसँग शिकार खेल्न गएका थिए । राती उदय वनको रेलको लिक भएको ठाउँमा उनी सुतीरहेको बेला अन्य साथीहरुले वदेल सम्झेर गोली हानेको स्थानीय एक युवाले बताए । ‘पुलिसले लाश गाडेको ठाउँमा लिएर आउदा मेरो कुरा भएको थियो । खासमा टर्चले परबाट हेर्दा वदेल सम्झेर हानेको रहेछ,’नाम नबताउने सर्तमा ती युवाले भने ।