धरान: देशभरका विभिन्न मेडिकल कलेजहरुमा अध्ययनरत हजारभन्दा बढी विद्यार्थी एवं चिकित्सकहरु धरानमा भेला हुने भएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंसिर २९ गते देखि पुष ७ गतेसम्म आयोजना गर्ने सप्ताहव्यापी साइन्याप्स कार्यक्रममा सहभागी हुन देशभरका मेडिकल साइन्सका विद्यार्थी एवं आवासिय चिकित्सकहरु धरान आउने भएका हुन् ।

बिपी प्रतिष्ठानले यो कार्यक्रम हरेक दुई बर्षमा आयोजना गर्दै आएको छ । कुल ८ दिनसम्म आयोजना हुने कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिता, साँस्कृतिक एवं साहित्यिक गोष्ठीहरु हुने आयोजक समितिका मिडिया संयोजक शुभम कुमार अग्रवालले जानकारी दिए । प्रतिष्ठानले सन् २००६ देखि हरेक दुई बर्षमा साइन्याप्स कार्यक्रम आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा देशभरका मेडिकल विद्यार्थीहरु सहभागी एवं प्रतिस्पर्धामा भाग लिने गरेका छन् । आयोजक समितिका अनुसार यसपाली कार्यक्रमको पहिलो दिन बिहान वाल्काथनबाट औपाचारिक उद्घाटन हुनेछ । यसमा प्रतिष्ठान, अन्य मेडिकल कलेजका पदाधिकारी, फ्याकल्टी, विद्यार्थी, चिकित्सक एवं आवासीय चिकित्सकहरुले सहभागिता जनाउने छन् ।

47389977_2110756992279576_8772251925035876352_n

समारोहको दोस्रो दिन पुष १ गतेदेखि अन्तिम दिन पुष ७ गतेसम्म विभिन्न साहित्यिक, खेलकुद र सांस्कृतिक प्रतियोगिताहरु हुनेछ । साईन्याप्समा खेलकुदअन्तर्गत अन्तरकलेज क्रिकेट, फूटवल, भलिबल, बास्केटबल, फुटसल, क्रिक्सल, कबड्डी, टेबलटेनिस, ब्याडमिन्टन, चेस, एथ्लेटिक्स र मोबाईल तथा कम्प्युटर गेमहरुको प्रतियोगिता हुने आयोजक कमिटिका अध्यक्ष राजन साह बताए । उनका अनुसार साहित्यिक कार्यक्रमअन्तर्गत क्विज, स्पेलिङ बि, वत्तृत्वकला, वादविवाद, फोटोग्राफी, स्केचिङ र पेन्टिङ, सर्ट स्टोरी लेखन, निबन्ध लेखन, पुस्तक समिक्षा लेखन र कविताका प्रतिष्पर्धाहरु हुनेछ । हरेक दिन सांस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि हुनेछ । यसका साथै सांस्कृतिक कार्यक्रमअन्तर्गत अन्तरकलेज नृत्य र गायन प्रतिस्पर्धा, ब्याटल अफ ब्यान्ड्स, युट्युब सेन्सेसनजस्ता प्रतियोगिताहरु आयोजना गरिने आयोजकको भनाई छ । साताव्यापीको कार्यक्रमको अन्तिम दिन पुष ७ गते गायक सविन राईको सांगीतिक प्रस्तुती पनि हुनेछ । विगतको बर्षहरु भन्दा यसपाली कार्यक्रम निक्कै रोचक, प्रतिस्पर्धात्मक र भव्य हुने आयोजकको दाबी छ ।