धरान : धरान उपमहानगरपालिका र छिमेकी नगर रामधुनी नगरपालिकबीच जोड्ने लिंक रोड निर्माणकोलागि सुनसरी निर्वाचन क्षेत्र नं १ का संघीय सांसद जयकुमार राईसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।रामधुनी नगरको वडा नं ७, पञ्चायन वरपिपल चोकबाट उत्तरतर्फ धरानको वडा नं १९ चौकीबारी जोड्ने लिंक रोडकोलागि जनप्रतिनिधिहरुको टोलीले स्थलगत निरीक्षण गरेको हो । यो बाटो निर्माणको लागि स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमबाट ४० लाख रुपैया बजेट विनियोजन भएको छ । गत कार्तिक अन्तिम साता सांसद राईको अध्यक्षतामा सदरमुकाम इनरुवामा बसेको बैठकले यो बाटोको स्तरोन्नतिको लागि बजेट विनियोजन गरेको थियो ।

47571360_921717641285937_5692734707079315456_n

पञ्चायनको वरपिपल चोकबाट चारकोशे जंगल प्रवेश गरेर धरान १९, हरियाली सामुदायिक वन हुंदै धरान निस्कने यो पुरानो चल्तीको बाटो हो । उहिले यो बाटो हुंदै पञ्चायन, बक्लौरीतिरका बासिन्दाहरुले गोरुगाडा चलाएर आफ्नो कृषिजन्य उत्पादनहरु धरान ल्याउने गर्थे । निक्कै चल्तीको यो रुट पछिल्लो समय असुरक्षासंगै अन्यत्र सहज यातायात सुविधाले प्रयोगमा आउन छोडेको थियो । यो बाटो सञ्चालनमा आउन सके धरान र पञ्चायन हुंदै झुम्का निस्कने नयाँ रुट पनि सञ्चालनमा आउनेछ ।

सांसद राईले धरानलाई चारैतिरबाट सडक सञ्जालले जोड्ने गरी पुर्वाधार विकासलाई प्राथमिकता दिएसंगै यो बाटोको स्तरोन्नति पनि प्राथमिकतमा समेटिएको छ । धरानलाई सबैतिरबाट लिंक रोडले जोड्ने र पुरानो व्यापारिक केन्द्रमा फर्काउने आफ्नो प्रयास रहने सांसद राईले बताए । धरानको वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बूका अनुसार पञ्चायनको परपिवल, ६४ बिघा जोड्ने बाटोको लागि धरानतर्फ २ वटा विकल्प हेरिएको छ । एउटा हरियाली वन समुहको मुख्य प्रवेश द्वार रहेको बाटो अर्को त्यहां भन्दा केही पुर्वपट्टि वडा ८ सँग जोडिने खहरे खोला नजिकको बाटोलाई पनि हेरिएको छ । ‘पञ्चायनबाट त ठुलो फायरलाइनसम्म उताबाट बाटो ट्रयाक खोलेर ल्याइसकेको छ, त्यहांबाट माथि हाम्रोतिर पनि पहिले गोरुगाडा हिडेको बाटो छ,त्यसैले वनलाई धेरै क्षति पनि हुदैन,’अध्यक्ष लिम्बूले भने,‘यो बाटो खोलियो भने धरानलाई धेरै फाइदा पुग्छ ।’