तेह्रथुम:तेह्रथुमको खोरुङ्गा–ताङमाया खोलाबाट जलविद्युत आयोजना निर्माणका लागि विद्युत विकास विभागले तेह्रथुम पावर कम्पनीलाई सर्वेक्षण अनुमतिपत्र दिएको छ । कम्पनीले विशेष साधारण सभामार्फत खोरुङ्गा–ताङमाया जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव पारित गरी विभागमा निवेदन दिएको थियो । कम्पनीले उक्त आयोजना २ हजार किलोवाटको हुने प्रस्ताव गरेको छ ।

विभागले आयोजना निर्माणका लागि सर्वेक्षण गर्न अनुमति दिएको कम्पनीका अध्यक्ष भूपतिलाल श्रेष्ठले जानकारी दिए । उक्त कम्पनीले हाल साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेको र नयाँ आयोजना निर्माणका लागि समेत प्रक्रिया अगाडि बढाएको कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले बताए । माथिल्लो खोरुङ्गा खोला निर्माणको काम ६० प्रतिशत पुरा भएको कम्पनीले जनाएको छ । निर्माणाधीन सो आयोजना जिल्लाकै सबैभन्दा ठुलो विद्युत आयोजना होे ।