विराटनगर: गठन भएको एक महिना ५ दिन पछि प्रदेश नं १ को योजना आयोगका पदाधिकारीहरुले सपथ लिएका छन् ।

आयोगको उपाध्यक्षमा नियुक्त भएका सुबोधराज प्याकुरेल, सदस्य पुर्ण लक्सम र मिना भण्डारीलाई सपथ गराइएको हो । उनीहरुलाई मुख्यमन्त्री शेरधन राईले सपथ खुवाएका थिए । आयोगका पदाधिकारीहरुलाई सपथ खुवाउदै मुख्यमन्त्री राईले जनताको आवश्यकता र चाहना अनसार विकासको नौलो खाका तयार हुने विश्वास व्यक्त गरे । उनले तत्कालिन र दिर्घकालिन योजना बनाउन आयोग सक्षम हुने पनि बताए । ‘हामीले अब काम गरेर देखाउने बेला हो । स्पष्ट विकासको ढाँचा तयार पारेर अघि बढ्न आयोगको महत्वपुर्ण भुमिका छ,’मुख्यमन्त्री राईले भने ।

प्रदेश योजना आयोगका उपाध्यक्ष प्याकुरेलले प्रदेशलाई नयाँ योजना र खाकाको साथमा आत्मनिर्भर बनाउने बताए । विगतको योजनाले किवासको कामहरु दुष्चक्रमा फसेको उनको भनाई थियो । विगतमा सरकारले बजेट ल्याउने, कर्मचारीले टेण्डर गर्ने र ठेकेदारले विकासको काम गर्ने तरिकाले प्रभावकारी काम हुन नसकेको प्याकुरेलको भनाई थियो । उनले अब त्यस्ता योजनाले काम नहुने भन्दै नयाँ योजना र खाका कोरिने पनि बताए । ‘प्रदेश १ लाई अबको ३ बर्षमा मध्यमकालमा एउटा सम्भावना भएको प्रदेशको रुपमा विकास गछौ,’उपाध्यक्ष प्याकुरेलले भने, ‘जनतालाई आत्मानिर्भर बनाउने, रोजगारी सिर्जना गर्ने गरी हामी योजना बनाउन केन्द्रीत हुन्छौ ।’

गत कात्तिक १४ गते बसेको प्रदेश मन्त्री परिषदको बैठकले प्रदेश १ योजना आयोग गठन गर्ने निर्णय गर्दै उपाध्यक्षमा प्याकुरेल र सदस्यद्धयमा भण्डारी र लक्समलाई नियुक्त गरेको थियो । उपाध्यक्ष प्याकुरेल इन्सेकका केन्द्रीय अध्यक्ष हुन् । आयोगका सदस्य भण्डारी मोरङको इटहरा स्थायी घर भएपनि काठमाडौंमा बसोबार गर्दै आएकी छन् । यस्तै, पाँचथर जिल्ला निवासी लक्सम अर्थशास्त्रमा विद्यावारीधीको तयारीमा छन् । पाँच सदस्यीय आयोगमा अझै २ जना सदस्य नियुक्त गर्न बाँकी नै छ ।