काठमाण्डौंः कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको घटनामा उनकै छिमेकी प्रदीप रावलले आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेको रावललाई प्रहरी महानिरीक्षक (आइजिपि) सर्वेन्द्र खनाल स्वयम उपस्थित भएर वयान लिदा घटना स्वीकार गरेको सिआइबी स्रोतलाई उदृत गर्दै अन्नुपुर्णपोष्ट अनलाइनले जनाएको छ । निर्मलाको न्यायका लागि देशभर प्रदर्शन चर्किएपछि आईजीपी खनाल स्वयंको उपस्थितिमा आरोपितको बयान लिनेक्रम सुरु भएको हो । गएराति आईजीपी खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको बताइएको छ । सीआईबीले रावलसँग गएराति १० बजेदेखि २ बिहान बजेसम्म बयान लिएको थियो। सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन् । घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ । यसको रिपोर्ट भने शुक्रबार मात्र आउने छ ।

रावलसँगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरिएको पनि अन्नपुर्ण अनलाइनले जनाएको छ । उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ, समाचारमा भनिएको छ । निर्मलाका छिमेकी रावलका बुबाआमा भारतमा बस्दै आएका छन् । निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो । रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको स्रोतको दाबी छ । गएरातिको साविति बयानमा आईजीपी खनालका साथमा सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीलगायत सहभागी थिए । सीआईबी स्रोतले रावलमाथिको थप अनुसन्धान डीएनए रिपोर्ट आएपछि हुने जानकारी दिएको छ ।