इटहरी: "परम्परागत, पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खाने बानीमा सुधार गरौं" भन्ने नाराका साथ सुनसरीको इटहरीमा सुरु हुन लागेको खाद्य मेलाको तयारी पुरा भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना तथा उद्योग वाणिज्य संघ इटहरी र घरेलु तथा साना उद्योग महासंघ सुनसरीको सह आयोजनामा हुन लागेको मेला बारे पत्रकार सम्मेलन गरी आयोजकले तयारी पुरा भएको जानकारी दिएको हो । परम्परागत खाद्य पदार्थहरुको पौष्टिकताका विषयमा वैज्ञानिक तथ्यहरुले समेत पुष्टि गरिरहेको तर्फ मध्यनजर गर्दै मेला आयोजना गर्न लागेको आयोजक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले वताए । जनमानसमा पोषिला खाद्यान्नहरुको विषयमा जानकारी गराउने उद्धेश्यले १४ वटै जिल्लाको प्रतिनिधीत्व हुने गरी स्टल रहने समेत कोइरालाले जानकारी दिए ।

मेला मंसिर २१ गते देखि २३ गते सम्म इटहरीको जनता माध्यमिक विद्यालय परिषरमा हुनेछ । मेलाको लागि सबै स्टल तयार भई सकेको छ । प्रवेश तथा स्टल निःशुल्क व्यवस्था गरिएको छ । मेलामा पोषिला खाद्य पर्दाथको विषयमा जानकारी दिइनेछ । साथै, मेलामा आर्थिक कारोवार पनि राम्रो हुने अनुमान गरिएको उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्टले बताए । मेलामा होटल व्यवसायी, जातीय खानाका परिवार, खाद्य व्यवसाय, खाद्य उद्यमसँग सम्बन्धित मेशिनरी, खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्स, खाद्य प्रविधिसँग सम्वन्धित शैक्षिक संस्थाहरुको स्टल रहने छ । होटल व्यवसायीहरु समेतका स्टल रहने भएकाले होटलमा हुने परिकारहरुका विषयमा जानकारी गराउन पाइने अवसर मिलेको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए । मेलाको आकर्षणका लागि सांस्कृतिक कार्यक्रमहरु समेत समावेश हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।