सुनसरी: इटहरीमा आइएमईको शाखा लुटेर फरार भएका राजन लिम्बुलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले लिम्बुलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।

उनलाई कालोपुलबाट गोली प्रहार गरेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको घुँडामा गोली लागेर छोडिएको प्रहरीले बताएको छ । ‘नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेका हौँ, आरोपीबाट हतियार बरामद भएको छ’, डिएसपी रूगम कुँवरले भने । प्रहरीले लिम्बुको साथबाट टाइप–५४ पेस्तोल र त्यसको गोली समेत बरामद गरेको जनाएको छ । लिम्बूको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मंसिर १२ गते इटहरी बजारमा रहेको एक्टिभ मनी ट्रान्सफरमा लुटेर लिम्बू फरार थिए । उनले चक्कुले सञ्चालकलाई छातीमा प्रहार गरी घाइते बनाएका थिए । साथै, ३ लाखभन्दा बढी रकम लुटेर फरार भएका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिबकुमार श्रेष्ठका अनुसार लिम्बु वित्तिय संस्था लुटपाटमा संलग्न कुख्यात डाँका हुन् । लिम्बुलाई लुटपाटमा अरुले पनि सघाउने गरेको खुलेको छ । ‘उनी लुटपाट मुद्दाका फरार आरोपी हुन । मनि ट्रान्सफर, बैंक र सुनपसल लुटपाटमा संलग्न थिए’, डिएसपी श्रेष्ठले भने ।