काठमाडौं: पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ।

राष्ट्रिय गौरवको सिक्टा सिचांई आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै मुख्य दुई निर्माण व्यवसायीसहित २१ जना विरुद्ध मुद्दा दायर गरिएको हो। आयोजना निर्माणको काम गरिरहेको सि.टि.सि.ई/कालिका जेभी,परामर्शदाता कम्पनी इआरएमसी-आइटीसिइओ नेपाल जेभी र निर्माणस्थलका टिम लिडरको मिलेमतोमा जानीजानी ठेक्का सम्झौतामा उल्लेख गरिएअनुसार गुणस्तर परीक्षणसमेत नगरी गुणस्तरहीन काम गरिएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो। उनीहरुमाथि २ अर्ब रुपैयाँको भ्रष्ट्राचारको मुद्दा दायर गरिएको छ।सिचांई आयोजनाको मुल नहर भत्किएको, मुल नहरको डिजाइनमा नै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक कन्सल्टेण्ट निर्माण व्यवसायीले पर्याप्त सुपरिवेक्षण नगरेको पाइएको अख्तियारले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अनुसन्धानका क्रममा आयोजनाको चेनेज १७ देखि ३५ किमी चेनेजमा सिचांई विभाग तथा सिक्टा आयोजनामा कार्यरत रहेका राष्ट्रसेवक कर्मचारीहरुको संलग्नतामा डिपिआर विना, गलत डिजाइन गरेर हतारमा ठेक्का सम्झौता लिई भ्रष्ट्राचार गर्ने उदेश्य राखेका कारण मुद्दा दायर गरिएको हो।