तेह्रथुम: लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले क्यामेराको प्रयोगले भ्रष्टाचार कम गर्न सहयोग पुग्ने बताएका छन् ।

क्यामेराको प्रयोगले योजनाको उपभोक्ता समिति गठनदेखि निर्माणका क्रममा फोटो खिच्न सकिने र त्यसैको आधारमा भ्रष्टाचार निवारण गर्न मद्दत पुग्ने उनले बताए । सरकारले अब हरेक स्थानीय तहमा कम्तिमा पनि एक जना क्यामेरा पर्सनको व्यवस्था गर्नुपर्ने उनले मागसमेत गरेका छन् । नगरपालिकाको केन्द्र बसन्तपुरमा आज सम्पन्न फोटोग्राफी तथा भिडियोग्राफी सम्बन्धी तीन दिने आधारभूत तालिमको समापन कार्यक्रममा बोल्दै मेयर माबुहाङले नगरपालिकाले पनि अब क्यामेरा पर्सन राखेर दस्तावेज गर्ने प्रचलन बसाउने बताए । यहाँको प्राकृतिक र सांस्कृतिक सम्पदाहरु क्रमशः लोप हुँदै जान थालेको भन्दै उनले त्यसको जगेर्नाका लागि समेत फोटो र भिडियो महत्वपुर्ण भएको बताए ।

नगरपालिकाको आर्थिक सहयोगमा आदिवासी जनजाति पत्रकार महासंघ तेह्रथुमले आयोजना गरेको तालिममा क्यामराको प्रयोग, सुरक्षा, क्यामराको एक्सपोजर, फोकस, क्लोज अप, लाइट टेम्प्रेचर, फ्रेमिङ, सर्ट फोटोग्राफी लगायत विषयमा छलफल गरिएको थियो । तालिमको सहजीकरण सिनेम्याटोग्राफर जीवन श्रेष्ठले गरेका थिए । तालिममा जिल्लामा कार्यरत १६ जना पत्रकारहरु सहभागी थिए ।

समापन कार्यक्रममा नगरप्रमुख माबुहाङ, नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगाना, प्रशिक्षक जीवन श्रेष्ठ, सहभागी उमेश नेपाली र लालीगुराँस नगरपालिकाका प्रेस सल्लाहकार राजकुमार तेयुङले मन्तव्य राखेका थिए । तालिमको समापन कार्यक्रम आदिवासी जनजाति पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष ठाकुर सेनेहाङ लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।