सुनसरी: अपहरण तथा शरीर बन्धकको मुद्दा खेपिरहेका नेपाली काग्रेस इटहरी सभापति हेमकर्ण पौडेललाई सर्वोच्च अदालतले सफाई दिएको छ ।

प्रधानन्याधिश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले पौडेललाई सफाई दिएको हो । सोही मुद्दामा हेमकर्ण सँगै नेविसंघका पूर्व केन्द्रीय सदस्य सुर्य राई, रोशन तामाङ,अचित श्रेष्ठले पनि सफाई पाएका छन । यसअघि, जिल्ला अदालत सुनसरी र उच्च अदालत विराटनगरको फैसलालाई बदर गदै सर्वोच्च अदालतले सभापति पौडेललाई सफाई दिएको हो । उनीमाथि २०६९ सालमा इटहरीका दुर्गा बहादुर अधिकारीलाई अपहरण गरी पैसा लुटेको अभियोग लागेको थियो । तास खेल्ने क्रममा उनले अधिकारीलाई अपहरण गरेर बन्धक बनाएको अभियोगमा जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो ।

यो प्रकरणमा प्रहरीले मुद्दा दर्ता गर्न स्वीकार नगरेपछि पीडित भनिएका अधिकारीले पुनरावेदन अदालतमा परमादेशको माग गर्दै रिट निवेदन हालेका थिए । पुनरावेदनबाट परमादेश जारी भएपछि २०७० फागुन २६ गते मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि पौडेल फरार भएर केही समयपछि जिल्ला अदालतमा उपस्थित भएका थिए । पौडेललाई जिल्ला अदालत सुनसरीले साढे ३ बर्ष कैद र २५ हजार जरिवाना तोकेको थियो । पौडेलले यो फैसलाविरुद्ध तत्कालीन पुनरावदन अदालत विराटनगरमा पुनरावेदन दिएका थिए । पुनरावेदनले जिल्ला अदालतको फैसलामा दिइएको सजाय घटाएर दुई बर्ष कैद र २५ हजार जरिवाना कायम गरेको थियो । पौडेलले पुनरावेदनको फैसलाप्रति पनि चित्त नबुझाउदै सर्वोच्च अदालतको ढोका ढकढकाएका थिए ।