इनरुवा : सुनसरीको कोशी गाउँपालिका मुसहरी टोलमा डकैती गर्न आएका समूहमाथि प्रहरीले गोली प्रहार गर्दा एकजनाको मृत्युु भएको छ ।

कोशी गाउँपालिकास्थित तस्करहरुले प्रयोग गर्ने सडकमा प्रहरीको गस्ती माथि अज्ञात समुहले गोली प्रहार भएपछि प्रहरीले जवाफी कारबाही गर्दा प्रहरीको गोलीबाट एक अज्ञात व्यक्तिको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । आइतबार राति १० बजे ५–६ जनाको समूहमा आएका ब्यक्तिहरुले गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । यो क्रममा डकैती गर्न आएको समूहको अन्दाजी ३०–३५ वर्षका एकजना डाकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

नेपाल–भारत सीमाभन्दा करिब ३ सय मिटर उत्तरतर्फको मुसहरी टोल नजिक घटना भएको हो । एसपी अधिकारीले मृतकको पहिचान हुन नसकेको जानकारी दिए । उनका अनुसार गोली लागि मृत्यु हुने व्यक्ति तराई मुलका जस्तो देखिने अन्दाजी ३५ वर्षका छन्। मृत्युुको साथबाट गोली लोड भएको पेस्तोल फेला परेको र नजिकै लोड भएको अर्को कटुवा पेस्तोल पनि भेटिएको प्रहरीले जनाएको छ ।

तस्करहरुले प्रयोग गर्ने रुटमा राति करिब ५ जना हतियार धारी जस्ता देखिने व्यक्तिलाई रोक्न खोज्दा एक्कासी प्रहरी माथि फायरिङ भएको बताइएको छ । प्रहरीका अनुसार जवाफ कारवाहीमा मारिएका व्यक्तिको कुम, ढाड र पेटमा गोली लागेको छ । मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित विपी प्रतिष्ठान पुर्याइएको छ ।

123222