सुनसरी: जनप्रतिनिधिसमेतको अगुवाईमा मिलापत्र गराएको इटहरीस्थित रोयल रिसोर्टमा भएको चर्चित बलात्कार प्रकरणका अभियुक्तहरुलाई जेल सजाय भएको छ ।

जिल्ला अदालत सुनसरीले अभियुक्तद्धय विराटनगरका मनिष भनिने जीवन श्रेष्ठ र धरानका जोकम लिम्बुलाई आइतबार जनही १० बर्षको जेल सजाय सुनाएको हो । न्यायाधिश ध्रुवकुमार उप्रेतीको इजालशले तरहराकी १४ बर्षीय एक बालिकामाथि बलात्कारको मुद्दामा यस्तो फैसला गरेको हो । ती बालिकामाथि गत पुषमा रोयल रिसोर्टमा बलात्कार भएको थियो ।

जिल्ला अदालनका अनुसार श्रेष्ठ र लिम्बुलाई जेल सजायसहित पीडितलाई जनही ५०–५० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने गरी फैसला भएको छ । पीडित बालिका र अभियुक्त जोकम लिम्बूबीच प्रेम सम्बन्ध थियो । अंग्रेजी नयाँ बर्षको बेला जोकमलाई ती बालिकालाई रिसोर्ट लगेका थिए । सोही रिसोर्टमा जोकम र मनिष मिलेर बलात्कार गरेका थिए ।

यो जघन्य बलाकात्र घटनालाई मिलापत्र गराउदा साक्षी बसेपछि इटहरी २० का अध्यक्ष मणिराम श्रेष्ठ पनि विवादमा परेका थिए । मिलापत्र गरी घटना गुपचुप पारेको अभियोगमा सुनसरी प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक चिरञ्जिवि दाहाल निलम्बनमा परेका थिए भने प्रहरीले घटना मिलापत्र गराएको आरोपमा अध्यक्ष श्रेष्ठसहित तिनै जनालाई केही सार्वजनिक मुद्दा चलाएको थियो । माझी र दाहालको निलम्बन फुकुवा भइसकेको छ ।