१ नम्बर प्रदेश अन्तर्गत सोमबार मोरङ र झापा जिल्लामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका-४ नयाँ बजारमा सोमवार दिउँसो ट्याक्टर ट्रली र ईन्जीन जोड्ने हिच भाँचिदा उक्त ट्याक्टरका सह-चालकको मृत्यु भएको छ ।

भित्री सडक खण्ड अन्तर्गत दिउँसो साढे १२ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १ त ३७६८ नम्बरको ट्रयाक्टरको ट्रली र ईन्जीन जोड्ने हिच भाँचिएको थियो ।

दुर्घटनामा परि ट्याक्टरको ट्रलीमा सवार रहेका ट्याक्टरका सह-चालक सोही गाउँपालिका बस्ने बर्ष २२ को महमद साकुला लडेर पछाडिको चक्काले किचेर घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते साकुलालाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो सवा १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ । मृतकको शव कानूनी प्रकृया पश्चात परिक्षणको लागि कोशी अंचल अस्पतालको शवगृहमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका-५ मा स्कुल बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ ।

दिउँसो सवा १२ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ क २३९० नम्बरको गोल्बल ऐजुकेशन ऐकेडेमीको स्कुल बसले तत्काल पहिचान खुल्न नसकेको पैदल यात्री अन्दाजी बर्ष ५५ की महिलालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते महिलालाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो साढे १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बस र बस चालक पाँचथरको दुर्दिम्बा गाउँपालिका-५ बस्ने बर्ष ४० को हर्क सुब्बा प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।