इटहरी: गत बैशाख १४ गते इटहरी ४ स्थित पारुहाङ चोकमा आगलागी हुदा ४ वटा पसल जल्यो भने करीब ७० लाख बराबरको क्षति भयो । उक्त आगलागी विद्युत् सर्टबाट भएको थियो । यस्तै, गत जेष्ठ १३ गते पनि इटहरी ६ स्थित काफ्ले मार्केटमा इन्भर्टर पड्केर आगलागी भयो । आगलागीमा दुईवटा पसलको सामान जलेर करीब दुई करोडको क्षती भयो । गत जेष्ठ २८ गते इटहरी ६ स्थित इन्द्र फेन्सी स्टोरमा आगलागी हुँदा पनि करोड भन्दा बढीको क्षती भयो ।

यसैगगरी, गत कात्तिक २१ गते इटहरीको मुख्य चौकमा भीषण आगलागी भएको थियो । तिहारको लक्ष्मी पुजाको दिन भएको आगलागीले करोडौको क्षति भयो । यसको कारण पनि बिद्युत सर्ट नै भएको खुल्यो । पछिल्लो समय मंसिर २५ गते मंगलबार इटहरी १२ खनारस्थित भानु अग्रवालले सञ्चालन गरेको लक्ष्मी फर्म एण्ड इण्डष्ट्रिज प्रा.लि.मा आगो लाग्यो । प्रहरी अनुसन्धानले यो आगलागीको कारण पनि विद्युत सर्ट भएको नै देखाएको छ ।

इटहरीमा पछिल्लो समय आगलागीका ठुला घटनाहरु भएका छन् । ती सबैजसो घटनामा विद्युत सर्ट भएर नै भएको विज्ञहरुको तर्क छ । इटहरी उपमहानगरपालिकाका वारुण यन्त्र प्रमुख जेवी राईका अनुसार अधिकांश ठाउँमा आगालागी हुनुको कारण विद्युत सर्ट रहेको छ । विद्युत जडान गरिसकेपछि घर वा पसलमा बेलाबेलामा मर्मत गर्नुपर्ने उनको भनाई छ । घरधनीले बेवास्ता गर्दा नै आगलागीको घटनाहरु बढिरहेको उनले बताए । विद्युत सर्ट भएर आगलागी हुँदा नियन्त्रण गर्न कठिन हुने उनी बताउँछन् । ‘समय समयमा रिपेयर नहुदा सर्ट हुने जोखिम हुन्छ, त्यसैले विद्युत जडान गरेपछि बेला बेला रिपेयर पनि गर्नुपर्छ,’उनले भने ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार मंगलबार उद्योगमा भएको आगलागी पनि विद्युत सर्टकै कारण हो । ‘विद्युत सर्ट कै कारण आगलागी भएको हाम्रो अनुमान छ,’ उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौ, मुख्यतः विद्युतकै कारण आगलागी भइरहेको छ ।’ डिएसपी श्रेष्ठले विद्युत सर्ट भएर आगलागी भएपनि मानवीय त्रुटी पनि रहेको बताए । उनले पनि समय समयमा मर्मत सम्भार नगर्दा नै ठुला आगलागीको घटनाहरु भएको बताउँछन्