उदयपुर : उदयपुरमा वर्षेनी हुने विभिन्न आपराधिक घटनामा १५ बर्ष मुनिका बालकहरुको संलग्नता अधिक देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांक अनुसार बलात्कार, यौनहिंसा र चोरी जस्ता घटनामा १५ वर्ष मुनिका बालकहरु नै सबैभन्दा बढी संलग्न भएको देखिएको हो । पछिल्लो चार महिनामा भएको जिल्लाको अपराधिक घटनाहरुमा बालकाहरुको अत्यधिक संलग्तनाले सरोकारवालाहरुलाई पनि गम्भीर बनाएको छ । पछिल्लो ४ महिनामा ७ वटा बलात्कार तथा यौनजन्य हिंसाको घटना भएको थियो । ती अधिकांश घटनामा १५ वर्षसम्मका बालकको संलग्नता रहेको उदयपुरका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक(एसपी) चन्द्रदेव राईले जानकारी दिए ।

प्रहरीले चार महिनामा ७ वटा मात्र बलात्कार तथा यौनजन्य घटना भएको तथ्यांक दिएपनि इन्सेक उदयपुरले भने यो समयमा २२ वटा बलात्कारको घटना भएको जनाएको छ । ती घटनाहरुमा पनि १५ वर्षसम्म बालकको संलग्नता धेरै रहेको इन्सेक उदयपुरका संयोजक भरत थापाले जानकारी दिए । थापाका अनुसार बलात्कारको घटनामा पहिले १७ वर्ष भन्दा माथिका किशोर बढी संलग्न हुने गरे पनि अहिलका घटनाहरुमा १५ वर्ष मुनिका बालकको धेरै संलग्नता देखिएको छ । विगतका वर्षहरुमा जिल्लामा लागुऔषध दुव्र्यसन एवं प्रयोगमा पनि बढी किशोर संलग्न हुने गरेको थियो । अहिले १५ वर्ष मुनिका बालकहरु दुव्र्यसनमा फस्ने गरेको पनि प्रहरी प्रमुख राईले जानकारी दिए ।

बालबालिका अपराध तथा लागुऔषध दुव्र्यसनमा फस्नुको कारण अभिभावकले आफ्ना बालबालिकाको उचित रेखदेख र हेरचाहमा वेवास्ता भएको प्रहरी नायब उपरीक्षक(डिएसपी) अर्जुन रानाभाटले बताए । उनले पनि उदयपुरमा बालबालिका बढी अपराधमा संलग्न हुन थालेको र आफ्नो जीवनलाई सङ्कटमा पारिरहेको भन्दै अभिभावकहरुलाई आफ्नो सन्तानप्रति गम्भीर हुन आग्रह गरे । मोबाइल र इन्टरनेटमा सहज पहुँच भएको र गलत सङ्गतमा लागेका आफ्ना बालबालिकालाई अभिभावकले बेवास्ता गरेकै कारण जिल्लामा बालकहरु अपराधमा बढी संलग्न हुन थालेको बुद्धिजिवीहरुको भनाई छ ।