इनरुवा: सुनसरीको सदरमुकाम इनरुवादेखि दक्षिण सिमावर्ती क्षेत्रमा रहेको भन्सार कार्यालयहरु व्यवस्थित नहुदा तस्करी दिन प्रतिदिन मौलाउदै गएको छ । राज्य संयन्त्रको वेवास्ताका कारण सीमानाकाबाट अवैधरूपमा सामान भित्रिरहेको छ ।

सीमानाकामा चेक पोष्टहरू भएपनि कडाई नहुदा तस्करी मौलाएको मात्र छैन, हतियारधारी पनि नेपाल प्रवेश गरेर हत्या गर्नेसम्मका घटनाहरु भइरहेको छ । भारतसँग जोडिने सुनसरीको साहेबगञ्जस्थित छोटी भन्सार कार्यालय लथालिङ्ग छ । सरकारले छोटी भन्सार कार्यालयको लागि सुविधा सम्पन्न २ वटा २ तले भवन पनि बनाइदिएको छ । तर, कार्यालयमा भने कर्मचारी बस्दैनन् । कम्पाउण्ड वालसहितको भन्सार कार्यालय स्थानीयको गाई बाध्ने थलो बनेको छ ।

कार्यालय फोहोर र अस्तव्यस्त हुनुका साथै कुनै सामानको संरक्षण हुन सकेको छैन । सुनसरीका दक्षिणी भेगका साथै सुनसरीका ठूला बजारमा समेत यो नाकाबाट सामान भित्रिन्छ । तस्करीका रूपमा भित्रिने सामान घरदेखि व्यापारीको पसलमा आउँछ । यो नाकाबाट नेपालबाट पनि थुप्रै खाले सरसामान भारततर्फ पनि जान्छन् ।

कार्यालयका प्रमुख सुरेश राउतका अनुसार सेवाग्राही नआउने गरेको कारण कार्यालय नखोलिएको हो । उी भन्छन्,‘यहाँ को आउँछ र कार्यालय खोलेर बस्नु ? भन्सार काटेर सामान लानेको संख्या एक दमै न्युन छ, त्यही भएर कर्मचारीहरू बस्दैनन् ।’ तर त्यहाँ आएर आफ्नो सामानको मूल्यांकन गराउनुपर्ने व्यापारीहरू चाहि साइकलबाट धमाधम सामान ओसारी रहेका हुन्छन् ।

सुनसरीमा साहेबगञ्ज नाकासहित ५ ओटा छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । तीमध्ये कौवाखोज छोटी भन्सार कार्यालय कागजको भरमा सञ्चालनमा छ । घुस्की भन्सार कार्यालय पनि कागजको भरमा संचालन रहेको छ । घुस्की कर्मचारीले कुनै बेला वडा कार्यालयको काम गर्ने गर्छ । साहेबगञ्ज र भण्टाबारी छोटी भन्सारमा भने नायव सुब्बा कार्यरत छन् । लौकही छोटी भन्सार खरिदारको मातहतमा छ ।

तस्बिर: गुगल