विराटनगर : तराईमा सशस्त्र भूमिगत गतिविधी गर्दै आएको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूहले सरकारलाई हतियार बुझाएको छ । उक्त समुहले बिहिबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमा सरकारी वार्ता टोली समक्ष हतियार बुझाएको हो ।

यो समुह २०६७ सालमा जयकृष्ण गोइत समुहको तराई जनतान्त्रिक मुक्ति मोर्चाबाट अलग भएको थियो । विवेक समुहका ४ जनाले हतियार बुझाउदै शान्तिपुर्ण बाटोमा हिड्ने प्रतिवद्धता पनि जनाएका छन् । सशस्त्र समुहको नेतृत्वकर्ता विवेक भनिने विनोदकुमार यादव, रामु भनिने रामनन्दन कुमार कामैत, चन्द्रशेखर भनिने विनयकुमार यादव र जेपी भनिने जयप्रकाश लिचपुरियाले सरकारी वार्ता टोली सक्षम हतियार बुझाएका हुन् । उनीहरुले २ वटा कटुवा पेस्तोल र एउटा अटोमेटिक पेस्तोल बुझाएका छन् । उनीहरुले पत्रकार, मानवअधिकारकर्मीसमेतको रोहबरमा हतियार बुझाउदै सार्वजनिक भएका थिए ।

सशस्त्र समुहहरुसँग वार्ता गरी शान्तिपुर्ण बाटोमा ल्याउन सरकारले सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको थियो । वार्ता टोली सदस्य सुरेश आले मगर, ताराकान्त चौधरी, गृहमन्त्रालयका उच्च अधिकारी, प्रहरीका उच्च अधिकारीसमेतको उपस्थितिमा विकेक समुहले हतियार बुझाएको हो । यो समुहसँग यसअघि सिरहामा वार्ता भएको र हतियार बुझाउन सहमत भएपछि आज विराटनगरमा सार्वजनिक गरिएको वार्ता टोलीका संयोजक पाण्डेले जानकारी दिए ।

वार्तामा सहमति जुटेकोले राजनीतिको मूलधारमा आउन र संविधानको परिधिमा पनि बस्ने निर्णय गरेर हतियार बुझाएको विवेक समुहका अध्यक्ष यादवले प्रतिक्रिया दिए । उनका अनुसार अन्य हतियारहरु पनि संकलन गर्ने कार्य भइरहेको र आगामी पुष ७ गतेभित्र सबै हतियार बुझाउने समय सरकारी वार्ता टोलीसक्षम मागेको पनि उनले बताए । आफ्नो कतिपय साथीहरु मारिएको र उनीहरुले राखेको हतियारबारे जानकारी नभएकोले ती हतियारहरु संकलन गर्न समय माग गरिएको यादवको भनाई थियो । सरकारी वार्ता टोलीका संयोजक पाण्डेले ज्वाला सिंह नामको तराईको सशस्त्र समुह फेला पर्न नसकेको जानकारी दिए । यस्तै, जयकृष्ण गोइतलाई पनि वार्तामा आउन पत्राचार गरिएको पाण्डेले बताए