काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदको निर्णयहरु सार्वजनिक गरेको छ । मंसिर २४ को मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सञ्चारमन्त्री गोकुल बास्कोटाले सार्वजनिक गरेका हुन ।

मन्त्रीपरिषद बैठकले नेपालमा भारतीय २००, ५०० र २,००० दरका नोट नचल्ने निर्णय गरेको सञ्चारमन्त्री बास्कोटाले जानकारी दिए । भारत सरकारले एक वर्षअघि ५०० र १,००० दरका नोटमा प्रतिबन्ध लगाएपछि २,००० दरका नोट प्रचलनमा ल्याएको थियो । मन्त्रिपरिषदको बैठकले नेपालमा भारतीय रुपैयाँ २००, ५०० र २,००० दरका नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए । भारतले नेपालमा रहेका १,००० र ५०० दरका नोट साट्न नदिएपछि नेपाल सरकारले भारतका थप दुई २०० र २,००० दरका नोटमा पनि प्रतिबन्ध लगाएको हो । सरकारको यो निर्णय संगै अब नेपालमा भारतीय सयको नोट मात्र चल्नेछ ।मन्त्री बाँस्कोटाले भारतले सहमति अनुसार साट्न नमानेकाले भविष्यमा क्षति नहोस् भनेर नेपाल सरकारले कदम चालेको जानकारी दिए। त्यसैगरी साना किसानले कृषि विकास बैंकबाट लिएको ऋणलाई पनि सरकारले मिनाहा गर्ने निर्णय गरेको छ ।

किसानले लिएको ऋण (साँवा र ब्याज) अब सरकारले बैंकलाई तिर्ने मन्त्री बास्कोटाले बताए । यो निर्णयबाट करिब ७ सय किसान लाभाम्वित हुने पनि उनको भनाई छ । यस्तै, सरकारले आन्दोलनरत कपडा उद्योगीको माग सम्बोधन गर्दै बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट दिने निर्णय समेत गरेको छ । मन्त्री बास्कोटाले दिएको जानकारी अनुसार उद्योगीहरुको माग सम्वोधनका लागि गठित समितिले दिएको सुझावका आधारमा बैंकको ब्याजमा अनुदान दिने, भन्सार छुट दिने लगायतका निर्णय भएको हो।

मन्त्री बाँस्कोटले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई नेपाल बोलाइएको र विवादमा आएजस्तो कुरा सही भए कारबाही गरिने जानकारी दिए । मन्त्रिपरिषदले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने विषयलाई व्यवस्थापन गर्नका लागि अध्यादेश ल्याएको छ। अध्यादेशमा आवश्यक परामर्शका लागि लोकसेवा आयोगमा पठाएको मन्त्री बाँस्कोटाले जानकारी दिए । मन्त्रिपरिषदले गरेको विभिन्न १५ निर्णयमध्ये खानेपानी मन्त्रालयमा १६७ अस्थायी दरबन्दी स्वीकृत पनि एक हो । विभिन्न आयोजनालाई पूरा गर्नका लागि सरकाले उक्त कदम चालेको मन्त्री बाँस्कोटाको प्रष्टोक्ति थियो ।