नुवाकोट : नुवाकोटको दुप्चेश्वरगाउँपालिका १ घ्याङफेदीको घ्यावारडाँडाको भीरमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

दुर्घटनामा परेर घाइते भएका १५ जना घाइतेहरुको काठमाडौको शिक्षण अस्पतालमा ८ जना र ७ जना ग्रिनसिटीमा उपचार भइरहेको छ । मृत्यु भएका ३ जना बाहेक अरुको सनाखत भएको छैन । मृत्यु हुनेमा घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र वडा ७ का शिखरबेसीका रितेश पण्डित भएको दुप्चेश्वरगाउँपालिका प्रमुख योविन्द्रसिंह तामाङले जानकारी दिएका छन् । उद्धार गरी उपचारको लागि राति पठाएका एकजनाको बाटोमा ज्यान गएको र एक जनाको शिक्षण अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको गाउँपालिका प्रमुख तामाङले जानकारी दिए । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ सिम्टाङबाट वडा १ शिशिपुरतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनी ट्रक हिजो साँझ दुर्घटनामा परेको थियो ।