काठमाण्डौँ : दुई नेपाली ३३ किलो सुनसहित भारतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीका राकेशप्रसाद र हेमकुमार शर्मा रहेको नेपाल प्रहरीका उच्च अधिकारीले पुष्टी गरेका छन्।

गत शुक्रबार कोलकत्ता–दिल्ली राजमार्गको धनकुनी टोल प्लाजाबाट भारतीय प्रहरीले ३३ किलो सुनसहित उनीहरुलाई पक्राउ गरेको हो । कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासमा भारतीय पक्षले पत्राचार गरेपछि घटना सार्वजनिक भएको हो । सो सुन नेपालबाट भित्रिएको हुन सक्ने भारतीय पक्षको जानकारी पछि नेपालका अधिकारी समेत अनुसन्धानमा जुटेका छन् ।

भारतीय प्रहरीले बरामद गरेको सुन गत माघ पहिलो साता संयुक्त अरब इमिरेट्सबाट त्रिभुवन अन्त्रराष्ट्रीय विमानस्थल हुँदै भित्रिएको हुन सक्ने भन्दै गृह मन्त्रालयले अनुसन्धान सुरु भएको जनाएको छ । तस्करीका मुख्य नाइके चुडामणी उप्रेती गोरे समूहले गत फागुन १८ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेपछि तस्करीको ३३ किलो सुन गायब भएको घटना सार्वजनिक भएको थियो । शाक्य हत्या घटना अनुसन्धानका लागि सरकारले चैत २१ गते सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा ९ सदस्यीय छानविन समिति गठन गरेको थियो । एक सय दिनको कार्यादेशमा पौडेल नेतृत्वको उच्चस्तरीय टोलीले समेत तस्करीको साढे ३३ किलो सुन कहाँ गयो ? भन्ने मुख्य प्रश्नको रहस्य सुल्झाउन सकेन । तर गोरे समूहले पछिल्लो ४ वर्षको अवधिमा विमानस्थल हुँदै करीब ४ टन सुन तस्करी गरेको खुलासा गरेको थियो ।

तस्करीका मुख्य अभियुक्त भनिएका गोरे भने पूर्पक्षका लागि थुनामा छन् । तस्करीको ३३ किलो सुनका लगानीकर्ता भनिएका अर्का अभियुक्त मोहनकुमार अग्रवाल हाल फरार छन्् । सह–सचिव पौडेलले गृहको निर्देशनमा आफूहरुले भारतीय प्रहरीले बरामद गरेको सुन गोरे समूहले भित्राएको हो कि होईन भन्ने बारे अनुसन्धान सुरु गरेको बताए । वाणिज्यदूत एकनारायण अर्यालसँग समेत घटनाका विषयमा छलफल भएको उनले बताए ।