धरान: सुनसरीको धरान २ स्थित रत्न रोडमा सुनचाँदी शुद्धता जाँच्नको लागि शनिबारदेखि धरानका सुनचाँदी व्यवसायीहरुले एक्स रे मेसिन अर्थात टन्च मेसीन प्रयोगमा ल्याएका छन् ।

नेपाल सुनचाँदी कला व्यवसायी संघ धरानले शनिबार उक्त मेशिनको शुभारम्भ गरेको हो । संघका केन्द्रिय अध्यक्ष द्धारिका शंकरले मेसिनको रिवन काटेर उद्घाटन गरेका थिए । उद्घाटनको अबसरमा बोल्दैँ संघका केन्द्रिय अध्यक्ष शंकरले नेपालमा काठमाण्डौपछि दोश्रो धरानमा सुनचाँदी शुद्धता जाँच्ने मेसिन प्रयोगमा ल्याएको बताए । उनले भने,‘नेपाल सरकारको नाप तौल तथा गुण स्तर विभागले काठमाडौंको बालाजुमा सन्चालन गरेको छ ,तर निजी क्षेत्रबाट भने नेपालमा नै पहिलो पटक हुनसक्छ ।’

उनले निजी क्षेत्रले प्रयोगमा ल्याएको प्रविधिलाई सरकारले मान्यता दिनु पर्ने पनि माग गरेका छन् । त्यसका लागि सरकारसँग समन्वय गर्ने पहल गरिरहेको उनले बताए । सुनचाँदी व्यवसायीहरुले प्रायः जसो पुरानो कसी लगाएर सुनको शुद्धता नाप्ने चलन छ । नेपाल सुनचाँदी व्यवसायी संघ प्रदेश नम्बर १ का अध्यक्ष प्रेम लकान्द्रीले टन्च मेसीनले भने कति मात्रामा मिसावट छ भन्ने कुराको समेत मापन गर्ने भएकाले अहिले व्यवसायी र ग्राहक वर्गहरुका लागि आवश्यक रहेको बताए ।

सरकार र प्रदेश सरकारसँग प्रविधिले मापनलाई मान्यता दिन पनि लकान्द्रीले बताए । सरकार, व्यवसायी, ग्राहकलाई टेवा पुगोस भनेर नयाँ प्रविधि प्रयोगमा ल्याएका उनले बताए । मेसीन खरिद र कार्यालय व्यवस्थापन गरी जम्मा ६० लाखको लागतमा मेसीन प्रयोगमा ल्याइएपनि व्यवसायीले सस्तो र सुलभ मुल्य एक सय रुपैयाँमा सुनको शुद्धता जाँच्न सकिने उनले बताए ।