कञ्चनपुर : चाउमिन खाँदा कृष्णपुर नगरपालिका– ३ आमघाटमा एउटै घरका दुई दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना दाजुभाइ हुन् ।

शनिबार बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै ठूली आमा सीतादेवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जना विरामी परेका थिए ।

दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल लगिएको थियो।

त्यहाँ पनि उपचार सम्भव नभएपछि बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचारार्थ लैजाने क्रममा शनिबार बिहान बाटोमै दुवै जनाको मृत्यु भएको परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

दुवै दाजुभाईको बुबाको यसअघि नै निधन भइसकेको छ । ठूलो बुबा र आमाको आश्रयमा दुवै बालक बस्दै आएका थिए । मृत्यु भएका बालककी आमा छन् । दाजु भाईको मृत्यु भएपछि स्थानीय बासिन्दाले चाउमिनमा विषादी मिसाएर ठूलोबुबा र आमाले हत्या गरेको आरोप लगाएका छन् । स्थानीयको आरोपपछि इलाका प्रहरी कार्यालय झलारीले ठूलोबुबा लक्षी सुनार र ठूलीआमा सीता सुनारलाई पक्राउ गरेको छ ।

दुवै जनालाई हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको प्रहरी निरीक्षक अवस्थीले बताएको छ । चाउमिनमा विषादी हालेर वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अहिले खुल्न सकेको छैन ।