झापा : वडाध्यक्षहरु वडा कार्यालयमा जान छाडेपछि हल्दिबारी गाउँपालिका अन्तरगतका वडा कार्यालयमा सेवाग्राही नजाँदा सुनसान देखिएका छन ।
वडाध्यक्षहरु कार्यालयमा उपस्थित हुँदा विहान साढे १०÷ ११ बजेदेखि तीनबजेसम्म कामको चाप हुने गरेका कार्यालय सुनसान हुन थालेका छन । वडाध्यक्षहरु वडामा नआएपछी वडामा कार्यरत कर्मचारीहरु अलमलमा परेको साथै फुर्सदिला दिन विताउन वाध्य छन ।
वडाध्यक्षको अधिकार गाउँपालिकाले हस्तक्षेप गरेको भन्दै हल्दिवारी गाउँपालिका अन्तरगतका ५ वटै वडाका वडाध्यक्षहरु गत मंसीर १९ गतेदेखि नै वडा कार्यालय गएका छैनन् । यद्यपी नागरीकलाई प्रवाह गर्ने सेवा कार्यालय परिषर बाहिरबाटै दिइदै आएको हल्दिबारी वडा नं.–२ का एक कर्मचारीले जानकारी दिए । नाम गोप्य राख्ने शर्तमा वडाध्यक्ष कार्यालय नआएपनि सेवाबाट बञ्चित नगरेको तर, सेवाग्राहीहरु नै कम आउने गरेको उनले बताए ।

गाउँपालिकाले वडाध्यक्षको अधिकार हडपेपछी सेवा दिन आफूहरुलाई असहज भएको निष्कर्ष निकाल्दै सोही विरोधमा एक भएका सम्पुर्ण वडाका वडाध्यक्षहरुले गत मंसीर १८ गते एक विज्ञप्ति जारी गर्दै माग सम्बोधन नभएसम्म कार्यालयमा नफर्कने जनाएका थिए । विज्ञप्ति जारी गरेको ११ दिन वितिसक्दा पनि समस्या समाधानमा गाउँपालिकाले कुनै चासो नदेखाएको वडाध्यक्षहरुले बताएका छन् । यस वाट हल्दिवारी गाउँपालिकाका सम्पुर्ण वडाहरु विचल्लिमा मात्र परेका छैनन नागरिकहरुमा जन प्रतिनिधिहरु प्रतिको विश्वास गुम्न सक्ने देखिएको छ ।