धरान: तेह्रथुमको छथर गाउँपालिका १ मा युवतीको घाँटी(घोक्रो) काटेर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

वडा नं २ शुक्रबारे घर भएकी करिब ३० बर्षीय नमुना बोहराको घाँटी खुकुरीले काटेर फरार भएका लिलाबहादुर भण्डारीलाई प्रहरीले तेह्रथुमको ओख्रेबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमका अनुसार ओख्रे हुदै पाँचथरतर्फ लुकीछिपी जाने क्रममा भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । ‘हुलिया अनुसारको व्यक्ति ओख्रेबाट समातिएको छ, उनलाई जिल्ला ल्याउने काम भइरहेको छ । मोवाइल नेटवर्क राम्रो नभएर टोलीसँग सम्पर्क भइरहेको छैन,’प्रहरी निरीक्षक गौतमले भने,‘उनी फरार व्यक्ति हुन् भन्ने पक्का हो, वयान लिएपछि घटनाबारे सबै कुरा खुल्छ ।’

भण्डारीले छथर गाउँपालिका २, शुक्रबारे घर भएकी नमुना बोहराको सोमबार बिहान घाँटी काटेर फरार भएको आरोप छ । आइतबार साँझ नमुनासँगै वडा नं १ स्थित कमल शेर्पाको घरमा बसेका भण्डारीले सोमबार बिहानै नजिककै रहेको मार्ग पोखरी मन्दिरमा लगेर नमुनाको घाँटी काटेका थिए । करिब साढे ८ बजेतिर घाँटी रेटिएको अवस्थामा हातमा खुकुरी लिएर नमुना गाउँमा पुगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए भने उनलाई तत्काल उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो ।

प्रहरीले घटनास्थलबाट झोला, जुत्तालगायत सामाग्रीहरु फेला पारेको थियो । झोलाबाट भण्डारीको नागरिकता फेला परेपछि प्रहरीले उनको खोजी तीब्र बनाएको थियो । अनुसन्धानको क्रममा आरोपित व्यक्ति विवाहित भएको साथै दुवै जना धामी र धमिनी भएको पनि रहस्य खुलेको थियो । सिन्दुर, पोतेलगायतका सामानहरु पनि भेटिएकोले उनीहरुबीचको सम्बन्धबारे पनि रहस्य खुल्न बाँकी छ । घरधनी शेर्पाले आइतबार राती दुवैजना बेलुका एउटै कोठामा बसेको वयान दिएका थिए । दिउँसो एकपटक मोवाइलमा सम्पर्क गर्दा फरार भण्डारीले आफु भोजपुरमा गएको बताएका थिए । तर, लोकेशन ट्रेस गर्दा उनी पाँचथर पुगेको खुलेपछि सबै तिर प्रहरीबीच समन्वय भएर खोजी तिब्र बनाएको थियो ।

अप्रेशनपछि बोहराको अवस्थामा सुधार

सोमबार बिहान खुकुरीले घोक्रो काटिएर तेह्रथुमबाट गम्भीर अवस्थामा बिपी प्रतिष्ठान उपचारमा ल्याइएकी नमुनाको अवस्थामा सुधार आएको छ । सोमबार दिउँसो प्रतिष्ठानको आकस्मिक कक्षमा चिकित्सकहरुले अप्रेशन गरेपछि उनको अवस्थामा सुधार आएको परिवारजनले जनाएका छन् । हाल बोहरालाई नाक,कान,घाँटी वार्डमा राखिएको छ । ‘पुर्णरुपमा ठिक हुन एक साताजति समय लाग्ने डाक्टरले भनेको छ,’दिदी गीता कार्कीले भनिन् ।