धरान: किरात चाड एवं मंसिरे पुर्णिमा(उधौली)को विदालाई सरकारले कटौती गरेकोमा असन्तुष्ट रहेको चार किरात समुदायले आउदो बर्षदेखि १ नं प्रदेशमा यो चाडमा ३ दिन विदा दिन माग गरेको छ ।

चार किरात संस्थाले धरानस्थित इलाका प्रशासन कार्यालयमार्फत मंगलबार १ नं प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउदै किरात चाड उधौलीलाई राष्ट्रिय चाडकोरुपमा मान्यता दिएर ३ दिन सार्वजनिक विदा दिन माग गरेको हो । किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरी, किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति, किरात याक्खा छुम्मा जिल्ला कार्यसमिति र सुनुवार सेवा समाज जिल्ला कार्यसमिति सुनसरीले मंगलबार संयुक्तरुपमा ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो ।

विगत १६ बर्ष अगाडिदेखि सरकारले नै राष्ट्रिय चाड मानेर दिएको विदालाई गत बर्ष कटौती गरेकोप्रति चार किरात समुदाय असन्तुष्ट रहदै आएका छन् । ‘विगत डेढ दशकदेखि सरकारले दिदै आएको किरात चाडलाई सरकारले कटौती गरेको छ, हामीले आदिबासी जनजाति समुदायले मनाउदै आएको चाडपर्वलाई राष्ट्रिय चाडकोरुपमा मानेर विगतमा दिइदै आएको विदालाई निरन्तरता दिनुपर्छ भन्ने माग गरेका छौ,’यायोक्खाका जिल्ला अध्यक्ष वलराम राईले भने,‘हामी किरात समुदायले मंसिरे पुर्णिमा उधौलीलाई किरात चाडकोरुपमा मनाउछौ, चार किरातबाहेकले पनि मंसिरे पुर्णिमालाई धुमधामले मनाउछन्, त्यसैले यो चाडमा १ नं प्रदेशमा ३ दिन विदा दिनुपर्छ भन्ने माग गरेका छौ ।’

48987895_2185417545111287_7350424253193256960_n copy

ती संस्थाहरुले गत बर्ष २०७४ चैत १४ गते प्रकाशित राजपत्रको बुँदा नं २ को उपबुँदा २ मा संशोधन गरेर किरात चाडमा ३ दिन विदा थप्न माग गरेको छ । किरात जातिभित्र राई, लिम्बू, याक्खा, सुनुवार, थामी, जिरेल, सुरेल, हायुलगायत पर्छन् । ती जातिहरुले मंसिर पुर्णिमालाई साकेला उधौली, चासोक तङनाम, चासुवा, शादर, पिदार,भूम्यालगायत विभिन्न नाममा मनाउने गर्छन् । ‘जसरी हिन्दुधर्मावलम्बीहरुको दशैमा ५ दिन, तिहारमा ३ दिन विदा दिइन्छ, त्यसैगरी हामी किरातहरुले मनाउने यो मंसिरे पुर्णिमा उधौलीलाई पनि किरात चाड मानेर ३ दिन विदा दिनुपर्छ भन्ने माग गरेका छौ,’उनले भने ।

ज्ञापन पत्र बुझाउन यायोक्खा अध्यक्ष वलराम राई, उपाध्यक्ष हिन्दुहाङ राई, चुम्लुङका कार्यवाहक अध्यक्ष स्वर्णिमहाङ फोम्बो, याक्खा छुम्मका अध्यक्ष रेवत याक्खा, सुनुवार समाजका अध्यक्ष हेमन सुनुवार गएका थिए । सरकारले २०५८ सालमा मंसिर पुर्णिमा(उधौली)लाई राष्ट्रिय चाड मानेर विदाको घोषणा गरेको थियो । तर, गत बर्ष सरकारले राजपत्र प्रकाशित गरी उधौलीको विदा कटौती गरेको थियो ।