सप्तरी : सप्तरीको कञ्चनरुप गाउँपालिकामा मंगलबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले आधा दर्जन घर भत्काएको छ । हात्तीले घर भत्काउनुका साथै अन्नबाली, तरकारी खाएर कुल्चिएर नष्ट पारेको छ ।

३ वटा समूहमा आएको जंगली हात्तीले कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का रहमान मियाँको घर, मुस्तुफा मियाँको एउटा घर, बौकाको छोरीको घर भत्काउनुका साथै दर्जनौं किसानको अन्नबाली कुल्चिएर लाखौंको क्षति पुर्यााएको वडा नम्बर १२ का वडा सदस्य मोहम्मद करिमले बताए।

यसैगरी, वडा नम्बर ७ मा रहेको माधव खतिवडाको घर, महेश्वर मेहताको घर भत्काउनुका साथै अन्नबाली खाइदिएको छ । यसैगरी वडा नम्बर ७ कै रामधनी महतोको ५ कठ्ठामा लगाएको तरकारी खेती कुल्चिएर नष्ट पारेको स्थानीय महेश महतोले बताए।

यस क्षेत्रमा दिनानुदिन हात्तीले आतंक मच्चाउदाँ स्थानीयहरु रातभर जाग्रम बस्न बाध्य छन् । हात्तीको आक्रमणबाट यस नगरपालिकामा विभिन्न समयमा ६ जनाको मृत्यु भईसकेको छ भने घाइते भएका केदार साहको उपचार भइरहेको छ ।

त्यसैगरी, सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ मा रहेको जगमोहन नयाँ बस्तीमा जङ्गली हत्तीले ३ जनाको घर भत्काएको छ । स्थानीय रामसिंह तामाङ्ग, तिलमान तामाङ्ग र सितामाया तामाङ्गको घर भत्काएको स्थानीयले जानकारी दिए ।