पोखरा: बलात्कार पछि १० वर्षीया बालिका श्रेया सुनारको हत्यामा जिल्ला अदालत कास्कीले दोषी ठहर भएका कुसुम पौडेललाई आजन्म कैदको फैसला सुनाएको छ ।

न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार पौडेललाई जीवित रहेसम्म थुनामा राख्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलका अनुसार अदालतले पौडेल बाँचुञ्जेल कैद सजाय हुने फैसला गरेको छ । नयाँ मुलुकी संहिता लागु भएपछि सोही संहितामा व्यवस्था भएवमोजिम जिवित रहेसम्म कैद हुने गरी अदालतबाट भएको यो पहिलो फैसला हो । मुलुकी संहितामा बलात्कारपछि हत्यामा दोषी ठहर भएकालाई जिवित रहेसम्म कैद गर्ने व्यवस्था छ । स्याङ्जा स्थायी घर भएका २७ बर्षीय पौडेल पोखरा– २२ पुम्दीभुम्दीमा बस्दै आएका थिए ।

मुलुकी अपराधसंहिता २०७४ को दफा ४१ मा ६ किसिमका कसूरमा कसुरदार जीवित रहेसम्म कैद सजाय गर्ने व्यवस्था गरिएको छ । जसमा बलात्कारपछि हत्याको कसूर पनि उल्लेख छ । श्रेयाको असोज ९ गते हत्या भएको थियो । घटनाको २४ घन्टा नबित्दै प्रहीले पौडेललाई पक्राउ गरेको थियो । रक्सीमा मात्तिएर श्रेयामाथि बलात्कार गर्न प्रयास गर्दा बालिकाबाट प्रतिकार हुनथालेपछि घाँटी थिचेर हत्या गरेको उनले स्वीकार गरेका थिए । श्रेयालाई घाँटी थिचेर बेहेस भएपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको पौडेले अदालतमा वयान दिएका थिए ।