धनकुटाः नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक शुक्रबार प्रदेश नं १ को धनकुटा नगरपालिकामा बसेको छ ।

धनकुटा नगरले फोहोर मैला व्यवस्थापन गरेको ठाउँलाई रमणीय पार्कमा परिवर्तन गरेको स्थानमा महासंघको केन्द्रीय बैठक बसेको हो । अघिल्लो दिन बिहिबार विराटनरमा राष्ट्रिय सम्मेलन गरेको महासंघले केन्द्रीय बैठक बस्न शुक्रबार धनकुटा पुगेको थियो ।

केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, सचिव दिलीप थापामगरसहित ५ दर्जन बढी पत्रकार नेताहरु धनकुटा पुगेका छन् । बैठकको व्यवस्थापन महासंघको धनकुटा शाखाले गरेको हो । प्रत्येक ६ महिनामा महासंघको केन्द्रीय बैठक बस्ने चलन छ । ती बैठकहरु राजधानीमा मात्र केन्द्रीत नभई विभिन्न जिल्लाहरुमा पुगेर महासंघले बैठक बस्ने गरेको छ ।

महासंघको बैठकस्थलमा नै निरन्तर लामो समय नृत्य गरेर विश्वकिर्तिमान राख्न सफल धनकुटाकी वन्दना नेपाललाई सम्मान गरिएको थियो । उनलाई महासंघ धनुकटा शाखाले सम्मान गरेको थियो । वन्दनाले निरन्तर १ सय २६ घण्टा नृत्य गरेकी थिइन् ।