तेह्रथुम : तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार राति साढे १० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीय युवाहरुको समुहले आक्रमण गरेको थियो । उनीहरुको कुटपिटबाट बेहुली २२ वर्षीय प्रतिक्षा सम्बाहाम्फे र अन्य ३ जना घाइते भएका छन् । प्रहरीले विवाहमा कुटपिट गर्ने वर्ष १९ का सरोज लिम्बु, वर्ष १४ का ओमन लिम्बु, वर्ष २१ का दिनेश लिम्बु, वर्ष १९ का सुदिप लिम्बु र वर्ष १७ का मन्दिप लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारकालागि विराटनगर पठाइएको र अन्य घाइतेहरु बेहुलीका दाजु देउमान लिम्बु, सुमन खापुङ र टिकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमले बताउनुभयो । जलजलेकी प्रतिक्षासँग पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।