धरान: ल्होसारमा विदाको माग गर्दै तमु(गुरुङ) समुदायले बिहीबार सुनसरी जिल्ला प्रशासन(सिडिओ) कार्यालयसहित देशभरका सिडिओ कार्यालयहरुमा धर्ना दिएका छन् । 

सरकारले यसबर्षदेखि लागु हुने गरी विदा कटौती गर्दा गुरुङ समुदायसहित विभिन्न आदिबासी जनजाति एवं अन्य धर्मावलम्बीहरुको महत्वपुर्ण चाडपर्वको विदा कटौती गरेको थियो । विगतमा दिदै आएको विदा कटौतीको निर्णय सच्याउन माग गर्दै गुरुङ समुदायले ल्होसारमा पुनः विदा दिन माग गर्दे सिडिओ कार्यालयअघि धर्ना दिएका हुन् । गुरुङहरुको जातिय संस्था तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको अगुवाईमा देशभरको सिडिओ कार्यालय अघि अहिले धर्ना कार्यक्रम जारी छ ।

48408303_212542176353598_7245713272639324160_n

सुनसरीमा पनि परिषदको जिल्ला अध्यक्ष बकसमान गुरुङको नेतृत्वमा गुरुङ समुदायहरुले धर्ना दिइरहेका छन् । दिउँसो करिब साढे १२ बजेदेखि शुरु भएको धर्ना एक घण्टासम्म हुने परिषदका केन्द्रीय सह महासचिव डम्बर तमुले जानकारी दिए । 'हामीले यसअघि पनि प्रदेश मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थियौ । सरकारले सबै जाति, धर्मावलम्बीहरुलाई समान व्यवहार गरेर सबैको चाडपर्वमा पुनः विदा दिइयोस् भन्ने माग हो,'उनले भने । यो बर्ष आइतबार तमु ल्होसार पर्व पर्छ ।