तेह्रथुम: बर्षासँगै भएको हिमपातले तेह्रथुम र संखुवासभाका डाँडाकाँडा सेताम्मे बनेका छन् । शुक्रबार मध्यान्हबाट हिमपात सुरु भएपछि तीनजुरे मिल्के जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् ।

यो क्षेत्रमा वर्षासँगै सिजनमै पहिलो पटक हिमपात भएको हो । दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको छ । तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायत क्षेत्र हिउँले ढाकेको छ । यी क्षेत्रमा अघिल्ला वर्षहरुमा यो भन्दा ढिलो मात्रै हिमपात हुने गरेको थियो । पछिल्लो दशकसम्म हिमपात नभएका तेह्रथुमका बसन्तपुर, जिरिखिम्ती, लसुने, घुर्मिसे, सिमिनाक्सी लगायत क्षेत्रमा पनि हिमपात भएको छ ।

ttm himpat4 copy

चौकीदेखि माथिको क्षेत्रमा दिउँसोबाट दूई फिट हिमपात भएको गुफाबजारस्थित गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले बताइन् । दिउँसोबाट उच्च क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ । हिउँ खेल्न जिल्लाका तल्लो क्षेत्र र धनकुटा, धरानदेखि समेत सयौँको संख्यामा पुगेका छन् । ओयाक्जुङ, श्रीजुङ, मोराहाङ, आम्बुङ, म्याङलुङ, सोल्मा, सुङनाम लगायत बस्तीहरुमा समेत बाक्लो तुषारो परेको छ ।

लामो समयपछि एकसाथ वर्षा र हिमपात भएका कारण ह्वात्तै चिसो बढेको छ । चिसाका कारण जिल्लाका सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण चिसो बढेपछि दर्जनौँ सरकारी र गैरसरकारी कार्यालयका कार्यक्रमहरु समेत स्थगित भएका छन् । वर्षाले जिल्लाका किसानलाई समेत हर्षित बनाएको छ । पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली लगाउन नपाएका किसानलाई वर्षाले बाली लगाउन सहज हुने भएको छ ।

ttm himpat copy ttm himpat1 copy ttm himpat2 copy