धरान: प्रदेश नं १ को स्थायी राजधानी कहाँ होला ? प्रदेशको नाम के रहला ? सर्वाधिक चासो,बहस र प्रतिक्षाको बिषय भएर पनि गएको प्रदेश सभा बैठकमा यो एजेण्डाले प्रवेश नै पाएन ।

प्रदेश सरकारले सहमति जुटाउने भन्दै दुवै एजेण्डा हिउँदे अधिवेशनको लागि थाती राख्यो । अब प्रदेश सभाको हिउँदे अधिवेशनको समय पनि आइसकेको छ, तर अझै पनि प्रदेश राजधानी र नामांकनबारे राजनीतिक दलहरुबीचमा सहमति जुटिसकेको छैन । गरमागरम बहस केही मत्थर भएपनि सर्वाधिक चासोको बिषय यही हो । राजनीतिक वृत्तमा मात्र होइन, जनस्तरमा पनि बहुप्रतिक्षित बिषय बनेको छ प्रदेश राजधानी र नामांकनको बिषय ।

प्रदेश राजधानीबारे विराटनग, इटहरी, धरान र धनकुटाका जनस्तरमा नै अभियान र आन्दोलनहरु चले । त्यसैले यो बिषय जनस्तरसम्म चासो बढेको छ । यस्तै छ, नामांकनको बिषय पनि । पहिचानको राजनीति र मुद्दाले नामांकनको बिषयलाई जटिल बनाइदिएको छ । पहिचानको राजनीति गर्नेहरुले प्रदेश १ को नाम पहिचानमा आधारित हुनुपर्ने माग गर्दै निरन्तर दबाब दिइरहेकोले सरकार अफ्ठेरोमा छ । त्यसैले प्रदेश सभाका दुई तिहाई संख्या भएर पनि नेकपा नेतृत्वको सरकारले नामांकन पनि राजनीतिक सहमति खोजिरहेको छ ।

aaaaUntitled-1

आइतबार नेपाल पत्रकार महासंघ सुनसरीको साधारणसभा तथा भवन उद्घाटन समारोहमा पनि मुख्यमन्त्री शेरधन राईले आउदो प्रदेश सभा बैठकबाट प्रदेशको स्थायी राजधानी र नामांकनको टुंगो लाग्ने दाबी गरेपनि राजनीतिक सहमति आवश्यक भएको बताए । उनले सहमति जुटाएर नै राजधानी र नामांकनको बिषय टुंग्याइने बताए । ‘कुनै आग्रह, दबाब र स्वार्थमा होइन, सबै जनताको भावनाको कदर गर्दै प्रदेश राजधानी र नामांकन टुंग्याउछौ,’मुख्यमन्त्री राईको भनाई थियो ।

मुख्यमन्त्री राईले राजधानी र नामांकनको बिषयमा सबै दलसँग कुराकानी र छलफल भइरहेको पनि दोहोर्याए । संघीयताको मर्मलाई आत्मसात गर्दै प्रदेश १ को भुगोल, मनस्थिति र ४५ लाख जनताको भावना, मतको पनि विश्लेषण गर्दै यो बिषयलाई समाधान गर्ने उनले बताए । ‘हिउदे अधिवेशनबाट टुंग्याउने भनेरै यो बिषयलाई थाती राखेको हो, चाडै बैठक बोलाउने तयारी गर्दैछौ,’उनले भने ।