विराटनगर : प्रदेश १ सामाजिक विकास मन्त्रालय मातहत रहेका २ सय ३६ कर्मचारी कामविहिन भएका छन् ।

केन्द्र सरकारले स्वास्थ्य कार्यालयहरु खारेज गरेपछि प्रदेश १ का १४ जिल्लाका स्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय तालिम केन्द्रमा कार्यरत २ सय ३६ कर्मचारी दुई महिनायता कामविहिन भएका हुन् । १४ वटा जिल्लास्थित जनस्वास्थ्य कार्यालय, क्षेत्रीय स्वस्थ्य तालिम केन्द्रमा कार्यरत जम्मा ६५ जना कर्मचारीलाई मात्र काममा खटाईएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय प्रवक्ता गोपी घिमीरेका अनुसार कामविहिन अवस्थामा बस्ने कर्मचारीहरु स्वास्थ्य सेवातर्फ चौथो तहदेखि ८ औँ तहसम्मका छन् ।

मन्त्रालयका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटामा कार्यरत १५, तेह्रथुममा कार्यरत ७, उदयपुरमा १२, मोरङमा कार्यरत २०, पाँचथरमा कार्यरत १४, ओखलढुंगामा कार्यरत ११, सुनसरीमा कार्यरत २२, जिल्ला स्वास्थ्य कार्यालय झापामा कार्यालय झापामा कार्यरत २१, खोटाङमा कार्यरत १३, सोलुखुम्बुमा कार्यरत ९, क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटामा कार्यरत २९, क्षेत्रीय तालिम केन्द्रमा कार्यालयमा कार्यरत १४ कर्मचारी जिम्मेवारीविहिन अवस्थामा बसेका हुन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयमा ६८ कर्मचारीको दरबन्दी छ । तर, प्रदेश सरकार गठन भएको एक वर्षसम्म सबै पदपुर्ति भएका छैनन् । दरबन्दीमध्ये ४६ पदपूर्ति भएको छ भने २२ दरबन्दी खाली छ । मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय धनकुटामा १८, शिक्षा तालिम केन्द्र सुनसरीमा ६ दरबन्दी खाली छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कामविहिन अवस्थामा बसेका कर्मचारीलाई चाँडै दरबन्दी सृजना गरेर खटाईने बताउँछन् । कर्मचारी खटनपटन केन्द्र सरकारले गरेको बताउदै उनले कामविहिन अवस्थामा रहेका कर्मचारीलाई केही दिन भित्र जिम्मेवारी सहित कार्यक्षेत्रमा खटाइने बताए ।