इलाम: चिकित्सा क्षेत्रको समग्र सुधार गर्नुपर्ने माग गर्दै अनसन बस्न इलाम जिल्ला पुगेका चर्चित डा. गोविन्द केसीले आफ्नो अनसनलाई एक साताको लागि सारेका छन् ।

बुधबार इलाममा पत्रकार सम्मेलन गर्दै डा. केसीले आफ्नो अनुसन ७ दिनलाई स्थगित गरेको जानकारी दिए । उनका अनुसार संघीय संसदको संसदीय समितिले केही दिन पर्खन आग्रह गरेको कारण अनसन तत्कालको लागि स्थगित भएको हो । 'म अनुसन बस्नकै लागि इलाम आएको हुँ, औपचारिकरुपमा घोषणा गर्दै उनले भने,'तर संसदको शिषा तथा स्वास्थ्य समितिले कम्तीमा २ दिन अनसन नबसिदिन आग्रह गरेको छ, मैले ७ दिनको समय दिएको छुँ ।'

डा. केसीका अनुसार समितिका सभापति जयपुरी घर्तीले उनका एक अभियन्तालाई फोन गरेर २ दिन अनसन नबसिदिन आग्रह गरेकी थिइन् । चिकित्सा शिक्षा विधेयकमा बुधबार संसदीय समितिमा छलफल भएको पनि घर्तीले डा. केसीलाई जानकारी गराएकी थिइन् । साथै, उनले छलफल अझै केही दिनसम्म हुने भएकोले पनि पर्खिन आग्रह गरेको डा. केसीले बताए । केही दिन लम्बिने भन्दै सभापति घर्तीले पर्खिन आग्रह गरेको सुनाए । गत साउन १० को सहमतिअनुसार नै ऐन ल्याउन पहल भइरहेको पनि सभापति घर्तीको भनाई रहेकोले आफुले उनको आग्रह स्वीकार गरेको डा केसीले बताए ।

डा केसीले यसअघि जुम्लामा २७ दिनसम्म आमरण अनशन बसेका थिए । त्यसबेला उनले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा पनि सरकारीस्तरको मेडिकल कलेज खोल्न माग राखेका थिए । राजधानीमा बग्रेल्ती मेडिकल कलेज खुलिरहदा उनले भने दुरदराजका जनतालाई पनि आधारभुत स्वास्थ्य सेवाको पहुँच हुनुपर्ने भन्दै यी जिल्लामा सरकारी मेडिकल कलेज खोलिनुपर्ने माग राख्दै आएका छन् । गएको साउन १० गते आगामी १० वर्षभित्र काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिनेलगायत २२ बुँदामा सरकार र केसीबीच सहमति भएको थियो ।