इनरुवा : दोहोरो नेपाली नागरिकता लिएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरकी ५३ वर्षीय सुशिला दाहाललाई झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिएको आरोपमा सुनसरी प्रहरीले नियन्त्रणमा लिई म्याद थप गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका वडानम्बर ६ घर भएकी दाहाललाई सुनसरी प्रहरीले दोहोरो नागरिकता प्रकरणमा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । दाहाललाई दोहोरो नागरिकता लिएको सुचनाको आधारमा मोरङ प्रहरीले पुष १२ गत्ते पक्राउ गरेको थियो । सुनसरी प्रहरीमा दर्ता भएको आधारमा पक्राउ परेकी दाहाललाई मोरङ प्रहरीले अनुसन्धानका लागि सुनसरी प्रहरीकोमा जिम्मा लगाएको छ ।

उनलाई अनुसन्धानका लागि १० दिने म्याद थप गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाहालले २०४४ साल चैत्र १५ गत्ते जिल्ला प्रशासन कार्यालय मोरङबाट तीर्थराज खतिवडालाई बाबु बनाई नागरिकता लिएको भेटिएको हो । त्यसैगरी बाबुराम दाहाललाई बाबु बनाइ सुनसरी प्रशासनबाट २०४६ साल जेठ १६ गत्ते झुटो विवरण पेश गरी नागरिकता लिएको प्रमाणका आधारमा दाहाललाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।