विराटनगरः राष्ट्रपति विद्यादेवी भण्डारीले वैदेशिक रोजगारीमा ठुलो संख्यामा नेपाली युवा तथा जनशक्ति विदेश पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गरेकी छिन् ।

विराटनगरमा बिहिबार आयोजित पुर्वाञ्चल विश्वविद्यालयको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो चिन्ता व्यक्त गरेकी हुन् । उनले आफ्नै देशमा स्वरोजगार हुने शिक्षा प्रणाली अंगाल्नुपर्ने पनि बताइन् । 'देशको ठुलो जनशक्ति विदेश पलायन भइरहेको छ, युवाहरुलाई विदेश पलायन हुन नदिई स्वदेशमै स्वरोजगार हुने खालको शिक्षा प्रणाली अंगाल्नुपर्छ,' राष्ट्रपति भण्डारीको भनाई थियो । युवा जनशक्ति विदेश पलायन हुने र स्वदेशमा दक्ष जनशक्तिको अभाव हुनेप्रति गहिरो चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले आजको युगको माग र आवश्यकतालाई धान्ने शिक्षा प्रणाली अपनाउनु चुनौती भएको पनि बताइन् ।

रजत जयन्ती मनाइरहेको पुर्वाञ्चल विश्वविद्यालयलाई पनि राष्ट्रपति भण्डारीले युवा जनशक्ति आफ्नै देशमा खपत हुने खालको शिक्षा दिन सुझाव दिएकी थिइन् । युवा शक्ति बैदेशिक रोजगारी र शिक्षाको लागि विदेश जानबाट रोक्नु पर्नेमा राष्टपति भण्डारीले जोड दिदै भनिन्,'ऋण बोकेर बिदेश जाने प्रबृत्तिलाई पनि अन्त्य गर्न जरुरी छ ।' ज्ञान, बिज्ञान, अध्ययन अनुसन्धान, चिन्तन र मनन् गर्ने थलो विश्वविद्यालय भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विश्वविद्यालयले सोही अनुसारको अध्ययन, अध्यापन विधि र पद्दती अपनाएको भन्ने अपेक्षा पनि व्यक्त गरेकी थिइन् ।

DSC_0645 copy

गुणस्तरीय पठनपाठन, पुर्वाधार अभाव, प्रतिस्पर्धी अध्ययन तथा अध्यापन कार्य नहुदा नै बालबालिकादेखि युवा पुस्ता पनि अध्ययनको लागि विदेन पलायन हुनु दुःखद् भएको राष्ट्रपति भण्डारीले बताइन् । साथै उनले यो अवस्थाबाट रोक्न विश्वविद्यालयले महत्वपुर्ण भुमिका खेल्नुपर्ने पनि बताइन् । ‘मुलकुको उत्पादन पद्दतीसँग हाम्रो शिक्षा प्रणाली उपयुक्त नभएको हो की भन्ने मलाई लागेको छ, यसको दायित्व अहिले शिक्षा प्रदान गर्ने विश्वबिद्यालयहरुले लिनुपर्छ,’राष्टपति भण्डारीको भनाई थियो । पुर्वाञ्चल प्राकृतिक स्रोत, साधनले भरिपुर्ण रहेको भन्दै राष्ट्रपति भडारीले प्रदेश नं १ लाई कृषि बिषयको अध्ययन र छलफलको बिषय बनाएर प्राथमिकतामा राखी अघि बढेमा ठोस परिवर्तन र उपलब्धी हासिल हुने पनि बताइन् ।