काठमाण्डौँ : २०७५ सालमा घोषणा भएका सार्वजनिक बिदाहरु यथावत राख्दै सरकारले १३ दिन थप विदा दिने प्रस्ताव गरेको छ ।

सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्दै थप १३ दिन विदाको प्रस्ताव गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको बिदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको छ। कतिपय जातीय पर्वहरुमा सम्बन्धित जातिको घनत्व रहेका प्रदेशमा मात्र सम्बन्धित प्रदेश सरकारले बिदा घोषणा गरेका थिए । सरकारले पर्वहरुको बिदा काटेको भनी आलोचना भईरहेको समयमा यस्तो निर्णय भएको हो ।

आगामी वर्षदेखि किराँत समुदायको चाड उभौली र उधौलीमा बैशाख तथा मंसिर पूर्णिमा दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ । आदिवासी जनजाति महासंघको मागबमोजिम ती बिदा प्रस्ताव गरिएको हो । यसैगरी राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनलगायत मुस्लिम संस्थाहरुको माग बमोजिम इदुल फित्र, बकरइद र मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ । यस्तै क्रिश्चियन महासंघको माग तथा बिदा पुनरावलोकन गर्न सर्वोच्च अदालतको आदेशलाई समेत मध्यनजर गर्दै डिसेम्बर २५ मा क्रिसमसको दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ । आगामी वर्षदेखि गुरुङले मनाउने तमु ल्होसार, तामाङको सोनाम ल्होसार र शेर्पाको ग्याल्वो ल्होसारमा पनि सार्वजनिक बिदा प्रस्ताव गरिएको छ । यसैगरी छठ पर्वमा पनि विदा दिन प्रस्ताव गरिएको छ ।