धरान: प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मुलुकले समृद्धिको लक्ष्य हासिल गर्न सबै क्षेत्रको समानरुपमा विकास हुन आवश्यक भएको बताएका छन् ।

एउटा क्षेत्र वा बिषयमा मात्र विकास र समृद्ध हुदैमा मुलुकले समृद्धिको लक्ष्य हासिल गर्न नसक्ने उनको भनाई छ । शुक्रबारदेखि धरानमा शुरु भएको अन्तर वडास्तरीय गोधुली कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यो धारणा व्यक्त गरेका हुन् । उनले खेलकुद, कला, साहित्य, गीत,संगीत सबै क्षेत्रको विकास र प्रर्वद्धनमा तिनै तहको सरकारले ध्यान दिनुपर्ने पनि बताए । यस्तै, उनले खेलकुद र खेलाडीहरुको समस्या समाधान गर्न खेलकुद विधेयक बनिरहेको जानकारी दिदै सभामुख भण्डारीले आवश्यक सुझाव दिन पनि आग्रह गरेका थिए ।

सोही समारोहमा बोल्दै अखिले नेपाल फुटबल क्लब(एन्फा)का मानार्थ उपाध्यक्ष किसोर राईले एन्फा र प्रदेश नं १ सरकारबीच सम्झौता भएको खुलाउदै अब प्रदेशको फुटबल व्यवसायिक हुने बताए । प्रदेश सरकारले मुख्यमन्त्री कप आयोजना गर्न एन्फालाई १ करोड रुपैया उपलब्ध गराउने सम्झौता भएको थियो ।