धरान: पाँच दिन अघि मात्र प्रतिनिधि सभा सदस्य सांसदकोरुपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका टिकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

टिकापुर घटनामा पुर्पक्षको लागि कारागार चलान भएका चौधरीले जिल्ला अदालत कैलालीको आदेश र सो आदेशलाई सदर गर्ने उच्च अदालत दिपायलको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधिशद्धय इश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले आज जिल्ला र उच्च अदालतको आदेशलाई नै सदर गर्दै जेलमुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चले पर्याप्त प्रमाण, मिसिलहरुले चौधरीले नै कसुर गराएको भन्ने आधारहरु भएकोले जिल्ला र उच्च अदालतको आदेशलाई परिवर्तन गरिरहन नपर्ने भनेको छ ।

49898481_10216720450751187_2506534049133101056_n

सर्वोच्चले प्रहरी नायब निरीक्षक मानबहादुर बोहरालगायत ८ जनाले ज्यान सम्बन्धी मुद्दामा किटान गरी पोल गरेको, घटनास्थलमा उपस्थित प्रहरीले कागज गर्दा चौधरीसमेत उपर किटानी पोल गरेको, सहअभियुक्तहरुले चौधरीको निर्देशनमा घटनामा संलग्न भएको भनी बयान दिएको, कल डिटेल हेर्दा घटनास्थल भन्दा टाढा रहेको नदेखिएको, प्रतिवादी प्रदीप चौधरीले अदालतसमक्ष गरेको बयानमा रेश चौधरीउपर किटानी पोल गरेकाले लगायत पर्याप्त आधारहरुले चौधरीले कसुर नगरेको भन्ने नदेखिएको सर्वोच्चले ठहर गरेको छ ।

50277580_10216720450511181_3736349229413564416_n

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनको बेला प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको निर्ममतापुर्वक हत्या भएको थियो । सोही घटनाको मुख्य आरोपी चौधरी पुर्पक्षमा थुनामा छन् । उनी हाल डिल्लीबजार कारागारमा छन् । उनी विरुद्ध कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो ।