इलाम : चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका माग राख्दै पटक पटक आन्दोलनमा होमिएका वरिष्ठ हाडजोर्नी चिकित्सक डा. गोविन्द केसीले भोली बुधबारदेखि पुनः आमरण अनसन गर्ने सरकारलाई चेतावनी दिएका छन् ।

अनसनको लागि इलाम जिल्ला आइपुगेका डा.केसीले बुधबारसम्म सरकारले माग पुरा नगरे अनसन शुरु गरेको बताएका हुन् । मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.केसीले यसअघि सरकारले आफुसँग गरेको सहमतिलाई पालना नगरे अनुसन शुरु गर्ने बताए । उनले १५ औं अनसन बस्दा सरकारले गरेको सहमतिलाई जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । यसअघि संसदीय उपसमितिको आग्रहमा केसीले अनसनको मिति सारेका थिए ।

डा. केसी पुष १७ गते नै अनसन बस्न इलाम आएका थिए । संसदीय उपसमितिमा चिकित्सा शिक्षा विधेयकबारे छलफल भइरहेकोले सभापति जयपुरी घर्तीले २ दिनको समय माग गरेकी थिइन् । तर, डा. केसीले ७ दिनको म्याद दिएका थिए । सात दिनको समय घर्किन लाग्दा पनि सम्झौताअनुसारको विधेयकमा सहमति हुने संकेत नपाएपछि डा।केसी पुनः अनसन बस्न इलाम आएकाछन् ।
डा. केसीले यसअघि जुम्लामा २७ दिनसम्म आमरण अनशन बसेका थिए । त्यसबेला उनले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा पनि सरकारीस्तरको मेडिकल कलेज खोल्न माग राखेका थिए । राजधानीमा बग्रेल्ती मेडिकल कलेज खुलिरहदा उनले भने दुरदराजका जनतालाई पनि आधारभुत स्वास्थ्य सेवाको पहुँच हुनुपर्ने भन्दै यी जिल्लामा सरकारी मेडिकल कलेज खोलिनुपर्ने माग राख्दै आएका छन् । गएको साउन १० गते आगामी १० वर्षभित्र काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिनेलगायत २२ बुँदामा सरकार र केसीबीच सहमति भएको थियो ।