तेह्रथुम : युएईमा जेल परेका तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम मलेसिया सम्पर्क मञ्चले ४ लाख रुपैयाँ सहयोग गरेको छ । मन्चले मलेसियामा संकलन गरेकोे ४ लाख ६० रुपैयाँ रकम जोगीको परिवारलाई हस्तान्तरण गरेको हो ।

मन्चले फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बामार्फत परिवारलाई सहयोग रकम उपलब्ध गराएको हो । मन्चले अभियानमार्फत संकलन गरेको रकम मन्चको अनुरोध बमोजिम परिवारलाई उपलब्ध गराइएको वडाध्यक्ष मादेम्बाले बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीना, तीनजुरे सामुदायिक अध्ययन केन्द्र म्याङलुङका अध्यक्ष विपीन सुब्बा लगायतले बोल्दै रोजगारीका लागि मलेसिया पुगेका तेह्रथुमे र नेपालीहरुको स–सानो रकम जम्मा गरी सहयोगका लागि पठाएकोप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

सो अवसरमा फेदाप गाउँपालिका–२ का वडाध्यक्ष मादेम्बाको अगुवाईमा संकलन भएको ६४ हजार १ सय रुपैयाँ समेत परिवारलाई हस्तान्तरण गरिएको छ । दुवै गरी कुल ४ लाख ६४ हजार १ सय ६० रुपैयाँ खड्गबहादुर जोगीका आमालाई घरैमा पुगेर हस्तान्तरण गरिएको वडाध्यक्ष मादेम्बाले बताउनुभयो ।
२०७० सालमा युएई गएका जोगीसँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा चार वर्षदेखि जेल सजाय भोगिरहेका छन् । खड्गबहादुरलाई अदालतले ५ वर्ष कैद र दुई लाख दिर्हाम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । जोगी अहिले युएईको आबुधावीमा रहेको अलवात्बा जेलमा रहेका पारिवारिक श्रोतले जनाएको छ ।
जोगीलाई नेपाल फर्काउन २ लाख दिर्हाम अर्थात् नेपाली ६२ लाख रुपैयाँ जुटाउन देश विदेशमा अभियान चलेको थियो । अहिलेसम्म आवश्यक रकम जम्मा भइसकेको खड्गबहादुर जोगी बचाऊ अभियानका अध्यक्ष दुर्गा गिरीले बताउनुभयो ।