धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार बिहान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जिल्ला र नगरका नेता, कार्यकर्ताको टोली डेलिगेशन गयो । साविक एमाले र साविक माओवादी केन्द्रा नेता, कार्यकर्ताहरुले प्रतिष्ठानको सेवा प्रभावकारी बनाउन चारै जना पदाधिकारीलाई दबाब दिने भनिए पनि भित्रि उद्देश्य भने अर्कै थियो ।

खासमा नेकपाका नेताहरु प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारलाई हटाउने कसरतको थालनी हो मंगलबारको डेलिगेशन । स्थानीय, प्रदेश र केन्द्रमा पनि दुई तिहाईको सरकार चलाइरहेका नेकपाका धरान र जिल्लाका नेताहरु बिपी प्रतिष्ठानमा आफु अनुकूल उपकुपति ल्याउन चाहिरहेका छन् । सकेसम्म वर्तमान उपकुलपतिलाई लगाउने, नत्र हटाउने प्रयास स्वरुप चेतावनी दिन हिजो नेताहरु प्रतिष्ठानमा डेलिगेशन गएको नेकपाका एक नेता बताउँछन् । ‘हुन त नेताहरुको आ आफ्नो स्वार्थ छ, कसैको इन्स्युरेन्सको लफडा छ, कसैको औषधी पसलको लफडा छ,’ती नेताले भने,‘कार्यकर्ताहरुको चै बिपी प्रतिष्ठान सध्रियोस् भन्ने चाहना छ, तर कसले कसलाई प्रयोग गर्छ, त्यो अर्कै कुरा हो ।’

ती नेताले भनेजस्तै मंगलबार नेकपाका नेता मुरारी सुवेदी, सिपि दत्त, चोत्लुङ, नारायण सुवेदी, वेणु काफ्लेलगायतले बोल्ने क्रममा सुधार गर्न नसक्ने हो भने पद छोड्न भन्दै उपकुलपतिलाई दबाब पनि दिएका थिए । ‘नगर, जिल्ला, प्रदेश कमिटिले निर्णय गरेर केन्द्रमा दबाब दियो भने पार्टी हाइकमाण्ड पनि सोच्न बाध्य हुन्छ, हिजो त्यसैको रिहर्सल हो,’ती नेताले भने । साविक एमोलका कार्यवाहक अध्यक्ष नारायण सुवेदीले उपकुलपतिको विकल्प खोज्नुपर्ने पार्टी निष्कर्षमा पुगेको स्वीकार गरे । उनले प्रतिष्ठान सुधार गर्न नसक्ने हो भने उपकुलपतिले पद छोड्नुपर्ने बताए । ‘उपकुलपतिले पदाधिकारी मिलाएर लैजानुपर्छ, र प्रतिष्ठान सुधार्नुसक्नुपर्छ,’उनले भने,‘होइन भने पद छोडिदिनुपर्छ ।’

नेता सुवेदीका अनुसार साविक एमाले र साविक माओवादी नगर कमिटिले पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पनि उपकुलपतिको विकल्प खोज्न लिखितरुपमा नै दिने तयारी छ । ‘हामी डेलिगेशन जाने टिम बनाउछौ, र पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री एवं कुलपति केपी शर्माओलीलाई पनि भेट्छौ,’उनले भने ।

प्रतिष्ठानको समग्र सुधारको लागि भन्दै मंगलबार पदाधिकारीलाई दबाब दिन गएको भनेपनि नेकपाका नेताहरुले रेक्टर डा.गुरु खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठको बचाउ गरेका थिए भने उपकुलपति र अस्पताल निर्देशकप्रति आक्रमण देखिएका थिए । साविक एमालेका नेताहरु उपकुलपतिमा नियुक्ती भएदेखि नै रौनियारसँग रुष्ट छन् । अहिले नेकपा पार्टी नै उपकुलपतिको विरुद्ध खनिएको छ । रेक्टर खनाल र श्रेष्ठ नेकपानिकट हुन् । त्यसैले नेकपा दुवैको पक्षमा उभिएको हो ।

माथिबाट असफल भएपछि तलबाट कसरत

IMG_20190108_113138 copy

नेकपाका केही नेताहरु उपकुलपति डा.रौनियारलाई हटाउन शुरुवातदेखि नै कसरतमा थिए । एमआरआई खरीद प्रकरण हुदा पनि प्रतिष्ठानभित्रैका कर्मचारी, कांग्रेसका नेताहरुसहित नेकपाका ती नेताहरु उपकुलपति हटाउन सक्रिय भएका थिए । नेकपाका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पटक पटक भेट्न गए । उनीहरुलाई प्रतिष्ठानका रेक्टर डा.गुरु खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठको पनि साथ थियो ।

सिनेट निर्णयअनुसार नेपाल सरकारका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति पनि गठन भएको थियो । सिनेटले एमसिएच भवन, अंकोलोजी, कार्डियोलोजी र एनएफआरएसबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । यो समितिले छानबिन सकेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपनि त्यो अहिलेसम्म सार्वजनिक गरिएको छैन । पछि नेकपाका नेताहरुको प्रभावमा प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री उपेन्द्र यादव संयोजक रहने गरी अर्को छानबिन समिति गठन गर्यो । त्यो समितिमा रेक्टर र रजिष्ट्रार दुवै सदस्य भए । उपकुलपतिसँग तिक्ततापुर्ण सम्बध भएकै पदाधिकारी छानबिन समिति सदस्य भएपछि उपकुलपतिलाई कारबाहीको सिफारिश हुने अनुमान थियो ।

यो छानबिन समिति प्रतिष्ठानको पदाधिकारी हटाउन सक्ने प्रावधान भएको नियमावलीको दफा अनुसार गठन गरिएको कारण उपकुलपतिलाई हटाउने योजना अनुसार बनेको थियो । प्रधानमन्त्री ओली राष्ट्रसंघको जेनेभा सम्मेलनमा जानुअघि विस्तृत जानकारी नै नगराई सल्लाहकार विष्णु रिमालले हतारमा हस्ताक्षर गराएर छानबिन समिति गठन गरेको रहस्य खुलेको थियो । यसरी माथिबाट उपकुलपति हटाउन अनेक प्रयत्न असफल भएपछि स्थानीयस्तरबाट नेकपा पार्टी उपकुलपति हटाउन परिचालित भएको नेकपाभित्रै र प्रतिष्ठानमा चर्चा छ । ‘उपकुलपति हटाउन मन्त्री, प्रधानमन्त्रीकोमा धाउनेहरु माथिबाट थाकेपछि अहिले फेरी स्थानीय पार्टी समातेर उपकुलपतिविरुद्ध लागेका हुन्,’प्रतिष्ठानका एक कर्मचारीले भने ।